
विराटनगर । नेपाली कांग्रेसले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा बलराम सरदारलाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।
चुनाव प्रचारप्रसार समितिले आइतबार उम्मेदवार घोषणा कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै सरदारले ग्रामथान गाउँपालिकामा बहुसंख्यक जनताहरु कृषिमा आधारित भएकाले कृषिलाई प्राथमिकता दिएर काम गर्ने बताए । त्यस्तै, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने उनको प्रतिबद्धता छ ।
उनी नेपाली कांग्रेसका पूर्वमहासमिति सदस्य एवं कांग्रेस मोरङको सल्लाहकार समिति सदस्य हुन् । सरदारले आफू बारम्बार अवसर नखोज्ने भएकाले एकपटक चुनाव जिताइदिन मतदातासमक्ष आग्रह पनि गरेका छन् ।
कार्यक्रममा पूर्वमन्त्री एवं कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू, नेता गुरुराज घिमिरे, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, महासमिति सदस्य गोपालराज भण्डारीलगायतका नेताहरु उपस्थित थिए । उनीहरुले पार्टीका उम्मेदवारलाई जिताउन आह्वान गरेका छन् ।
सत्तारुढ नेकपा (एमाले)ले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुलसीराम विश्वासलाई उठाउने भएको छ । नेकपा (माओवादी केन्द्र)ले पूर्ववडाध्यक्ष नमोनारायण माझीलाई उम्मेदवार बनाएको छ ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचिन भएका थिए । उनको गत असार ३ गते निधन भएको थियो । गच्छदारको निधनपछि ग्रामथानमा उपनिर्वाचन हुने भएको हो ।

























