विराटनगर । विराटनगरका वरिष्ठ अधिवक्ता ६८ वर्षीय जगन फुयाँल आफ्नै घरबाट लडेर गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार फुयाँल विराटनगर महानगरपालिका–७ स्थित पुरानो घरको छतबाट आइतबार दिउँसो ४ बजेतिर चिप्लिएर खसेका थिए । उनको घर जिल्ला अदालतनजिकै पर्छ ।
अधिवक्ता सञ्जयकुमार मेहताका अनुसार घरको दुई तलामाथिको करिब २० फिट अग्लो रेलिङबाट खसेर घटना भएको हो । फुयाँललाई उपचारका लागि न्युरो अस्पताल भर्ना गरिएको छ ।
उपचारमा संलग्न चिकित्सकले अवस्था गम्भीर रहेको जानकारी दिएको मेहताले बताए । उनका अनुसार फुयाँल बोल्नसक्ने अवस्थामा छैनन् ।
‘उहाँ आफ्नै घरको २ तलामाथिबाट खसेर घाइते हुनु भएको हो । घर पुरानो थियो । छतमा लेउ लागेको रहेको छ । उपचार जारी छ । चिकित्सकले अवस्था खराब रहेको जानकारी दिएका छन्,’ मेहताले भने । फुयाँल मोरङ बारको सदस्य छन् ।