
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर विमानस्थलमा पत्रकारहरुसँग लामो कुराकानी गर्न अस्वीकार गरेका छन् ।
बुद्ध एयरको जहाजबाट करिब ११ बजे विमानस्थलमा अवतरण भएका ओलीले पत्रकारसँग लामो कुरा नगरेका हुन् । यसअघि प्रधानमन्त्रीलगायत विशिष्टहरु आउँदा विमानस्थलको भीआईपी कक्षमा पत्रकारहरुसँग समसामयिक विषयमा कुरा गर्ने गर्थे ।
तर, आज (सोमबार) ओली आउँदा भने पत्रकारलाई भीआईपी कक्षमा प्रवेश निषेध गरियो । प्रहरीले बाहिरै रोकेर राखेको थियो । ओली आउने खबर सुनेपछि प्रतिक्रिया लिनका लागि पत्रकारहरु विमानस्थल पुगेका थिए ।
जहाजबाट ओर्लिएर गाडी चढ्ने बेलामा उनलाई पत्रकारले मुलुकको आर्थिक समृद्धि र अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का बारेमा प्रश्न गरेका थिए । जवाफमा ओलीले एसपीपी सम्झौता नहुने बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले एसपीपी सम्झौता गर्न सक्ने आशंकापूर्ण अभिव्यक्ति दिएका थिए । विगतमा केपी शर्मा ओलीले सैद्धान्तिक सहमतिसमेत दिइसकेको भन्दै प्रचण्डले अब सम्झौता गर्न सक्ने आशंका गरेका हुन् ।
प्रचण्डले आइतबार मकवानपुरको हेटौंडामा आयोजित पत्रकार भेटघाटमा बोल्दै एमसीसीभन्दा अझ गम्भीर प्रकृतिको एसपीपी सम्झौता सरकारले गर्नसक्ने आशंका व्यक्त गरेका थिए । तर, विराटनगर विमानस्थलमा ओलीले एसपीपी सम्झौता नहुने बताए ।
अर्कोतर्फ उनले मुलुकमा आर्थिक समृद्धिको काम भइरहेको बताए । ‘मुलुकको समृद्धिका लागि हामी काम गर्दैछौं,’ उनले भने । त्यसपछि ओलीले थप प्रतिक्रिया दिन चाहेनन् ।
बेलुका काठमाडौं फर्किंदा कुरा गर्ने भन्दै उनी विराटनगरको होटल ह्यारिसनतिर लागे । ओलीको स्वागत एवं सुरक्षाका लागि भनेर २५ वटाभन्दा बढी अगुवा पछुवा गाडीको लाम लागेको थियो ।
उनी केहीबेर होटल ह्यारिसमा आराम गरेर सुनसरीको धरानतिर जाने कार्यक्रम छ । उक्त होटल उद्योगी एवं एमाले नेता मोती दुगडको हो । ओली विराटनगर आउँदा प्राय यही होटल प्रयोग गर्छन् ।
प्रधानमन्त्री आउने भएपछि विराटनगर र आसपासको सुरक्षा व्यवस्था कडा पारिएको थियो । ओली सुनसरीको धरान जाने कार्यक्रम छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३ औं दीक्षान्त समारोहमा सहभागी हुन उनी पूर्व आएका हुन् । उनी आजै अपरान्ह विराटनगर विमानस्थल हुँदै काठमाडौं फर्किने कार्यक्रम छ ।

























