ग्रामथानको अध्यक्षका उम्मेदवारहरु क्रमस कांग्रेसका बलराम सरदार, एमालेका तुलसीराम विश्वास र माओवादीका नमोनारायण माझी ।विराटनगर । मोरङको ग्रामथान गाउँपालिकालाई उपनिर्वाचन लागेको छ । अध्यक्ष पदका लागि मंसिर १६ गते चुनाव हुँदै छ ।
ठूला दलहरु उम्मेदवार यकिन गर्दै मैदानमा होमिएका छन् । सत्तारुढ नेपाली कांग्रेस, नेकपा (एमाले) र प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) अहिलेसम्मका तीन ठूला दल हुन् । तीनै दलले उम्मेदवार टुंगो लगाइसकेका छन् ।
माओवादीले निक्कै अघिदेखि उम्मेदवारी घोषणा गरेर जिताउने अभियानमा छ । निरन्तर घरदैलो र मतदाता भेटघाट गरिरहेको छ । कांग्रेस र एमालेले भर्खरै उम्मेदवार टुंगो लगाएका छन् । यी दुई दल पनि चुनाव केन्द्रित छन् ।
माओवादीले कात्तिक ५ गते नै अध्यक्षमा नमोनारायण माझीलाई उठाउने घोषणा गरेको थियो । उनी पूर्ववडाध्यक्ष पनि हुन् । २०७४ सालमा ग्रामथान गाउँपालिका–१ को वडाध्यक्ष निर्वाचित भएका थिए ।
तत्कालीन फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेर वडाध्यक्ष निर्वाचिन भएका नमोनारायण गत २०७९ सालको निर्वाचनमा स्वतन्त्र रूपमा सोही वडाको अध्यक्षमा उम्मेदवार बनेका थिए । तर, तेस्रो भए ।
कांग्रेस छाडेर माओवादी रोजेपछि अहिले गाउँपालिका अध्यक्षकै उम्मेदवार बन्ने मौका पाएका छन् । उनको नाम माओवादीको पदाधिकारी बैठकले सोमबार अनुमोदन गरेको छ ।
अर्कै पार्टीबाट आएकालाई टिकट दिएको भनेर माओवादीभित्र असन्तुष्टि बढेको छ । लामो समयदेखि पार्टीमा बसेर योगदान गर्ने तथा संगठन निर्माणमा अहोरात्र खटिनेहरु भने अवसरबाट बञ्चित भएका छन् । यद्यपि, आफ्ना उम्मेदवार जिताउन माओवादी कम्मर कसेर लागेको छ ।
एमालेले ग्रामथानको अध्यक्षमा तुलसीराम विश्वासलाई टिकट दिएको छ । उनी पार्टीका गाउँ कमिटी उपाध्यक्ष हुन् । २०६८ अघिसम्म विदेशमा थिए ।
विदेशबाट फर्किएर पार्टीमा सक्रिय भएका उनले अहिले अध्यक्षको टिकट पाएका हुन् । एमालेको शनिबार बसेको सचिवालय बैठकले तुलसीरामलाई अध्यक्षको उम्मेदवार बनाउने टुंगो गरेको हो ।
त्यहाँ पूर्वअध्यक्ष शिवनारायण माझीलाई उम्मेदवार बनाउन एमालेका केही नेताहरु जोडतोडका साथ लागेका थिए । तर, पार्टीले विश्वासलाई विश्वास गर्यो । भदौ २९ गते जुवा खालबाट पक्राउ परेर विवादमा मुछिएपछि टिकटमा ‘ह्याट्रिक’ गर्ने शिवनारायणको सपना समाप्त भएको नेताहरु बताउँछन् ।
उनी २०७४ सालमा एमालेबाट टिकट लिएर गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । ५ बर्से कार्यकाल समाप्त भएसँगै २०७९ सालमा पनि अध्यक्षको उम्मेदवार बने । तर, कांग्रेसका जयप्रकाश गच्छदार थारुसँग पराजित भएका थिए ।
एमालेबाट टिकटका लागि ११ जना आकांक्षी थिए । पार्टीको जिल्ला र प्रदेश कमिटीबाट तुलसीराम, शिवनारायण र निर्मला अधिकारीको नाम मात्रै केन्द्रमा सिफारिस भयो ।
कांग्रेसले ग्रामथानको अध्यक्षमा बलराम सरदारलाई उम्मेदवार बनाएको छ । बलराम पार्टीका पूर्वमहासमिति सदस्य एवं कांग्रेस मोरङको सल्लाहकार समिति सदस्य हुन् । कांग्रेसले बिहीबार नै उनलाई उम्मेदवार बनाउने निर्णय लिएको थियो । आधिकारिक हिसाबले घोषणा भने आइतबार गर्यो ।
टिकटको टुंगो लगाउन कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूको संयोजकत्वमा १३ सदस्यीय संसदीय समिति बनाइएको थियो । नेताहरुका अनुसार कांग्रेसमा अध्यक्षका १३ जना आकांक्षी थिए । तर, समितिले बलरामलाई टिकट दिने निर्णय गरेको हो ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारु ग्रामथानको अध्यक्ष निर्वाचित भएका थिए । उनको गत असार ३ गते निधन भयो । निधनपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।
गत चुनावमा जयप्रकाशले ७ हजार ६ सय ५ मत पाउँदा उनका निकटम प्रतिस्पर्धी एमालेका शिवनारायणले ६ हजार ९३ मात्रै ल्याएका थिए । माओवादी तेस्रो भयो । अध्यक्षका उम्मेदवार विजयकुमार सरदारले २ हजार ७ सय २७ मत ल्याए ।
यो गाउँपालिकामा ७ वटा वडा छन् । गत निर्वाचनमा एमालेले ५, कांग्रेस र माओवादीले १/१ वटा वडामा वडाध्यक्ष जितेका थिए । वडाध्यक्षको मतका आधारमा एमालेको ६ हजार ७ सय ६३, कांग्रेसको ५ हजार ५ सय ३७ र माओवादीको २ हजार ६ सय ६५ मत थियो ।
माओवादीबाट अहिले गाउँपालिका अध्यक्ष उठेका नमोनारायणले त्यतिबेला ग्रामथान–१ मा स्वतन्त्रबाट वडाध्यक्षको उम्मेदवार बन्दा ५ सय ५४ मत ल्याएका थिए ।
२०७४ सालमा एमालेका शिवनारायण ४ हजार ७ सय २० मत ल्याएर अध्यक्ष विजयी हुँदा निकटतम प्रतिस्पर्धी तत्कालीन मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)का जयप्रकाशले ४ हजार ६ सय ६१ मत पाए । पछि फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भयो ।
२०७४ मा फोरम लोकतान्त्रिकबाट लडेर पराजय बेहोरेका जयप्रकाशले २०७९ मा भने कांग्रेसबाट उम्मेदवार बनेर शिवनारायणलाई हराउँदै अघिल्लो चुनावको बदला लिएका थिए । २०७४ मा कांग्रेसका कृष्णकुमार सरदार थारुले ३ हजार १ सय ४३ मत ल्याए भने माओवादीका रमेशकुमार भगतले भने १ हजार ६ सय २ मतमा सीमित भए ।
माओवादीबाट अहिले उम्मेदवार रहेका नमोनारायण भने त्यसबेला ८ सय २८ मत ल्याएर ग्रामथान–१ को वडाध्यक्ष निर्वाचित भएका थिए । निर्वाचन आयोगका अनुसार ग्रामथान गाउँपालिकामा २७ हजार ४ सय ३९ मतदाता छन् ।

























