
काठमाडौं। सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेयता आन्दोलनरत रास्वपाका नेताहरुलाई अदालतको अपहेलनामा मुद्दा चल्ने भएको छ ।
लामिछानेमाथि अनुसन्धान भइरहँदा अदालतको कामकारबाहीविरुद्ध आन्दोलन गरेको भन्दै रास्वपाका नेताहरुविरुद्ध अपहेलना मुद्दा दर्ता गर्ने तयारी भइरहेको हो । सर्वोच्च अदालतले अदालतको अपहेलना निवेदन दर्ता गर्न आदेश दिएको छ ।
न्यायाधीश विनोद शर्माको इजलासले मंगलबार उक्त आदेश दिएको हो । यसअघि सर्वोच्च प्रशासनले निवेदन दरपिठ गरिदिएको थियो । मुद्दाको अनुसन्धान भइरहँदा अदालतलाई दबाब दिने हिसाबले अभिव्यक्ति दिने, जनमासलाई उचाल्ने र न्यायिक विचलन निम्त्याउने गतिविधि भएको भन्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्चमा अदालतमा अपहेलना निवेदन दिएका थिए ।
तर, निवेदनलाई सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गर्यो । कात्तिक १४ गते दरपिठ नै गरिदियो । त्यसविरुद्ध अधिवक्ता भट्टराईले कात्तिक २१ गते इजलासमा निवेदन दिएका थिए । उक्त निवेदनमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश शर्माको इजलासले दरपिठ बदर गरेर निवेदन दर्ता गर्न आदेश दिएको हो ।
भट्टराईले अब रास्वपाका नेताविरुद्ध अदालतको अपहेलना मुद्दामा निवेदन दर्ता गरिने बताए । उनले आफ्नो अवहेलना निवेदनमा विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारीसमेतले न्याय निरूपण प्रक्रियाको उपहास गरी सभा गर्ने, न्यायपालिका बारे तथ्यहीन र आधारहीन कुरा जनतामा फैलाउने लगायतका कार्य गरी स्वतन्त्र न्यायपालिका माथि जनमानसमा भ्रम सिर्जना गर्ने काम गरेको दाबी गरेका छन् ।
अवहेलना निवेदनमा रास्वपाका सांसदहरू स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त मर्हजन, तोषिमा कार्की, सोविता गौतमलगायतलाई विपक्षी बनाइएको छ।
यी हुन् मुद्दामा प्रतिवादी बनाउन खोजिएकाहरु



























