
विराटनगर । मोरङको ग्रामथानमा मंगलबार नेकपा (एमाले)ले आगामी उपनिर्वाचिन लक्षित भेला तथा प्रशिक्षण गरेको छ ।
पार्टीका महासचिव शंकर पोखरेललगायतका नेताको उपस्थितिमा एमालेले जिल्ला स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण गरेको हो । ग्रामथानमा अध्यक्ष पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।
निर्वाचनलाई लक्षित गरी एमाले मोरङको आयोजना तथा ग्रामथान गाउँ कमिटीको व्यवस्थापनमा ग्रामथान–२ को झोराहाटमा भेला तथा प्रशिक्षण गरिएको हो । त्यसलाई सम्बोधन गर्दै महासचिव पोखरेलले समाजलाई बदल्न एमालेको जित आवश्यक रहेको बताए ।
उनले स्थानीय तहहरुमा आधुनिक विकास, प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिए । ‘उपनिर्वाचन एमालेको मिसन ८४ का लागि ठूलो अवसर हो । नेता कार्यकर्ताले जिम्मेवारीका साथ काम गर्नुपर्छ । मुलुक र पार्टीको भविष्यका रूपमा यो चुनावलाई लिनुपर्छ,’ उनले भने ।
पोखरेलले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता नहुने र अहिले एकताको सम्भावना नै नरहेको स्पष्ट पारेका छन् । ‘नेताको टाउकोभन्दा पनि कार्यकर्ताको मन जोड्न आवश्यक छ,’ उनी भन्छन्, ‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई एमालेमा ल्याएर कुनै फाइदा छैन ।’
एमाले र नेपाली कांग्रेसको सहकार्य सरकार बनाउने उद्देश्यका लागि मात्रै नभएर देशको भविष्य र संविधान संशोधनका लागि भएको दाबी उनले गरे ।
स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले कुनै भ्रममा नपरी चुनावको प्रचार प्रसारमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । सिंगो पार्टी शक्तिलाई व्यवस्थित र प्रभावकारी रुपमा चुनावमा परिचालन गर्नुपर्ने उनको भनाइ छ ।
कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री राईले एमालेको मिसन ८४ को लक्ष्य तय भइसकेको भन्दै यो लक्ष्यलाई पूरा गर्न पछिल्लो समय पार्टीले शुद्धीकरण र सुदृढिकरणको अभियान तीव्र गतिमा अघि बढाएको जानकारी दिए ।
कोशी प्रदेशका मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की कानुनविपरीत काम गर्ने छुट कसैलाई नभएको बताए । अहिलेको शासन व्यवस्थाले कानुनविपरीत कार्य गर्नेलाई कानुनको दायरामा ल्याउने काम गरेको उनको भनाइ छ ।
अहिलेको राजनीतिक प्रणाली सबैभन्दा राम्रो व्यवस्था भएकाले यसको विकल्प अरु हुन नसक्ने कार्कीको भनाइ छ । उनले एमालेको संगठनलाई सशक्त बनाउने काममा लाग्न कार्यकर्ताहरुलाई आग्रहसमेत गरेका छन् ।
केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरेले अहिले पार्टीको ध्यान उपनिर्वाचनतर्फ केन्द्रित भएको बताए । उनले सबै एक ढिक्का भएर लाग्दै एमाले उम्मेदवारलाई विजयी गराउने अभियानमा होमिन सम्पूर्ण नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
केन्द्रीय सदस्य भगवती चौधरी, कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीलगायतका नेताले पार्टीको चुनावी अभियानबारे धारणा राखेका थिए । कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा मोरङका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
उपनिर्वाचनका लागि एमालेले ग्रामथानको अध्यक्षमा तुलसीराम विश्वासलाई अध्यक्षको उम्मदेवार बनाएको छ ।

























