समस्यामा कृष्णबहादुर : बिरामी पत्नीलाई विराट ल्याए, पैसा चोरिएपछि बेखर्ची भए

Share this
690shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २८, बुधबार ०७:०४

विराटनगर । संखुवासभाको पाँचखपन नगरपालिका–५ का ६५ वर्षीय कृष्णबहादुर तामाङले पत्नीलाई उपचारका लागि मोरङको बूढीगंगामा रहेको विराट शिक्षण अस्पताल ल्याए ।

पत्नी ६५ वर्षीया निर्माया तामाङ करिब २ सातादेखि बिरामी थिइन् । एक साताजति जिल्ला अस्पताल खाँदबारीमै बेड भर्ना गरेर उपचार गराए । निको भएको भनेर अस्पतालले डिस्चार्ज पनि दियो ।

घरमा ल्याएपछि निर्माया झन् शिथिल भइन् । पति कृष्णबहादुरले थप उपचारका लागि मंगलबार विराट ल्याए । उनीहरु सोमबार पहाडबाट झरेका हुन् । त्यो रात सुनसरीको इटहरी उपमहानगरपालिका–१ स्थित छोरीको घरमा बसे ।

पत्नीलाई लिएर भोलिपल्ट (मंगलबार) बिहान कृष्णबहादुर विराट अस्पताल आइपुगे । त्यतिबेलै एक जना व्यक्ति उनीसँग नजिक भए । आफू पनि बिरामी कुरुवा भनेर कृष्णबहादुरलाई विश्वासमा पारे ।

बिरामी पत्नी स्याहार्न समस्या भइरहेका बेला कृष्णबहादुरको पछाडि भिरेको झोला बोकिदिन्छु भने । पैसाको झोला फुत्काउन सफल भएका ती व्यक्ति त्यहाँबाट गायब भए । झोलाभित्र १ लाख १० हजार रूपैयाँ रहेको जानकारी कृष्णबहादुरले प्रहरीलाई गराएका छन् ।

पत्नीको उपचार गराउन ल्याएको पैसा अपरिचित व्यक्तिले विश्वासमा पारेर चोरीदिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए । कृष्णबहादुरले ती व्यक्तिलाई चिनेकै थिएनन् । ती व्यक्तिले आफ्नो पनि आमा बिरामी भएकाले रुँग्न अस्पताल बसेको बताएका थिए ।

गफ गर्दै जाँदा कृष्णबहादुरसँग निक्कै नजिक भए । अस्पतालको सीसी क्यामेरा फुटेजमा हेर्दा पनि ती व्यक्ति झोला बोकेर गेटबाट बाहिर निस्किएको देखिने जानकारी डीएसपी जोशीले दिए । ‘विश्वासमा पारी झेला बोकिदिन्छु भनेर मौका छोपेको पाइयो । पैसा चोरीमा संलग्नको खोजी भइरहेको छ । अनुसन्धान पनि गर्दैछौं,’ उनले भने ।

ती व्यक्तिको खोजीका लागि इलाका प्रहरी कार्यालय नेमुवाबाट सइ प्रवीण खड्काको नेतृत्वमा टोली परिचालन गरिएको छ । आफ्नी पनि आमा बिरामी भएर अस्पताल भर्ना गरेको भन्दै नजिक भएका व्यक्तिले कृष्णबहादुरको पैसा चोरी गरेको उनकी छोरी लक्ष्मीले बताइन् ।

उनका अनुसार प्रहरीलाई घटनाको मौखिक जानकारी भइसकेको छ । ‘मेरो त आमाको उपचार गराउँदा ५ लाख सकियो । यहाँ (अस्पतालमा)त धेरै पैसा खर्च हुन्छ । तपाईंले कति ल्याउनु भएको छ ? भनेर त्यो मान्छेले सोधेछ,’ लक्ष्मी भन्छिन्, ‘४ घण्टाभन्दा बढी सँगै हिँडेर र बसेर सहयोग गरेजस्तो पनि गरेछ । विश्वास गरेर सोधेजति कुरा बुवाले पनि भन्नु भयो । झुक्याएर पैसाको झोला नै चोरी गरेर भागेछ ।’

उनका अनुसार घटना दिउँसो १ बजेतिरको हो । आफ्ना माइती खेती किसानी गर्ने र सामान्य परिवारको रहेको लक्ष्मीले बताउँछिन् । ममी (आमा)लाई स्वास्थ्य परीक्षण गराउँदा थप समस्या नदेखिएपछि इटहरी नै लगेर राखेको जानकारी उनले दिइन् ।

एकातिर पत्नी बिरामी भएर कृष्णबहादुर तनावमा छन् । पहाडदेखि उपचार गराउन तराई झर्दा खर्च उत्तिकै लाग्यो । त्यहाँमाथि खोजीमेली गरेर पत्नीको उपचार गराउन ल्याएको पैसा चोरी भयो ।

बिरामी पत्नीको उपचार गराउन आएका उनी पैसा चोरी भएपछि बेखर्ची भएर थप समस्यामा परेका छन् । कृष्णबहादुरलाई तनावमाथि तनाव थपिएको छोरी लक्ष्मी बताउँछिन् । उनले भनिन्, ‘ममी बिरामी भएको तनाव एकातिर छ । अर्कातिर पैसा चोरी भएको तनाव थपियो ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.