
काठमाडौं । सामाजिक सञ्जालमा प्रेस काउन्सिल नेपालले निगरानी गर्न थालेको छ । फेसबुकसहितका विभिन्न सामाजिक सञ्जाल काउन्सिलको निगरानीमा परेका हुन् ।
सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल र युट्युब च्यानल तथा फेसबुक पेजको सञ्चार सामग्रीको अनुगमन थालिएको काउन्सिलले जनाएको छ । काउन्सिलले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन कार्यविधि बनाएर काम गरिएको जानकारी जानकारी दिएको छ ।
प्रेस काउन्सिल सञ्चारमाध्यमको नियामक निकाय हो । काउन्सिलले विभिन्न पेजसहित सामाजिक सञ्जालमा सञ्चालकको नाम, ठेगाना प्रष्ट हुनुपर्नेसहित तथ्यपूर्ण समाचारको लागि अपिल गरेको छ ।
निगरानीका क्रममा सामाजिक सञ्जालमा देखिएका कतिपय आपत्तिजनक सामग्री अनुगमनसहित प्रवृत्तिगत अध्ययन गरी सच्याउन र सचेतना जगाउने कामसमेत गरिने छ । काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले विज्ञप्ति जारी गर्दै युट्युब, अनलाइन टिभीसहित सामाजिक सञ्जालको पेजहरूको प्रयोगमा सहजता ल्याउन र व्यवस्थित बनाउन प्रेस काउन्सिलले बेग्लै कार्यविधि बनाइ कार्यान्वयन गरिरहेको स्पष्ट पारेका छन् ।
सञ्चार माध्यमअन्तर्गत आबद्ध भएका सामाजिक सञ्जाल युट्युबच्यानल एवम् फेसबुक पेजबाट सम्प्रेषित सामग्रीका सम्बन्धमा उजुरी आएमा वा स्वअनुगमनबाट देखिएमा त्यस्ता सामग्रीका सम्बन्धमा पत्रकार आचारसंहिताको व्यवस्था बमोजिम नै कारबाही भइरहेको विज्ञप्तिमा उल्लेख छ । अन्य सामाजिक सञ्जालबाट अफवाह फैलाउने, द्वन्द्व बढाउने, अश्लील सामग्री सम्प्रेषण गर्ने, अन्धविश्वासलाई प्रश्रय दिने, अशिष्ट र अमर्यादित गतिविधि समेटिएको सामग्री सम्प्रेषण भएको देखिएमा अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो) मा पत्राचार गर्ने गरिएको जानकारी काउन्सिलले दिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय कतिपय सामाजिक सञ्जाल (युट्युब र फेसबुक पेज)बाट प्रचलित कानुनअनुसार दर्ता भई स्थापित सञ्चार माध्यमप्रति वितृष्णा फैलाउने गरी गलत भाष्य निर्माण गर्न भएका प्रयासप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ।’
सामाजिक सञ्जाल दुरुपयोग गरी भ्रमपूर्ण, अफवाहपूर्ण, गालीगलौजपूर्ण सामग्री सम्प्रेषण भइरहेको काउन्सिलको विशेष अनुगमनबाट देखिएको छ। सामाजिक सञ्जालमा भेटिने कतिपय अमर्यादित, अशिष्ट र तथ्यहीन सामग्रीले जनमानसमा अन्योल एवं भ्रम सिर्जना गरिरहेको छ । काउन्सिलले यस्ता गतिविधिलाई गम्भीररूपमा लिई समस्या समाधानका लागि राज्यका निकायहरूसँग आवश्यक समन्वय र सहजीकरण गरिरहेको जनाएको छ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले आधिकारिक र विश्वसनीय सूचना प्रवाहबाट मात्र पत्रकारिता बलियो र प्रभावकारी हुने बताए । सामाजिक सञ्जाल पनि त्यसैका लागि सदुपयोग गर्न सके अहिले देखिएका कतिपय भ्रमहरू आफैं हट्दै जाने उनको धारणा छ ।























