
रुपन्देही । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेलाई शुक्रबार रुपन्देहीबाट पोखरा लगिएको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि उनलाई पोखराबाट मंगलबार रुपन्देशी लगिएको थियो । रुपन्देहीमा बयान सकिएसँगै उनलाई भैरहवा हुँदै पोखरा लगिएको हो । उनको बयान बिहीबार साँझ सकिएको थियो ।
लामिछानेलाई यति एअरलाइन्सको विमानबाट १ः३० बजे पोखरा लगिएको जानकारी रुपन्देही प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरले दिए । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लगेर रकम अपचलन गरेको आरोप लामिछानेमाथि लागेको छ । बयानका क्रममा रकम अपचलन गरेको कुरा उनले अस्वीकार गरेका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलले सहकारी ठगीमा प्रतिवादी बनाएर लामिछानेमाथि अनुसन्धान गरेको थियो । अदालतले उनलाई पक्राउ गर्न यसअघि नै प्रहरीलाई अनुमति दिएको थियो । सुप्रिमबाट लामिछानेले २ करोड र जीबी राई सम्बद्धहरूको नामबाट १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबीन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानका क्रममा पक्राउ परेका उनीविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान भइरहेको छ ।

























