
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा चुनावी सरगर्मी बढेको छ । ग्रामथानमा आगामी मंसिर १६ गते अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय शुक्रबार स्थापना गरिएको छ । उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उम्मेदवारको टुंगो लगाइसकेका छन् ।
चुनावी माहोल तत्दै गर्दा उम्मेदवारहरु मतादाता रिझाउन लागि परेका छन् । आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त छन् । उम्मेदवारले आइतबार मनोनयन दर्ता गराउँदै छन् ।
चुनावी सरगर्मी बढेसँगै उम्मेदवारहरु भोट माग्न व्यस्त छन् । घरदैलो गर्दै मतदातालाई आफ्नो पक्षमा पार्न उम्मेदवार सक्रिय रहेका हुन् । मतदाता रिझाउँदै गाउँ–गाउँ, बस्ती–बस्ती र कृषकका खेतबारीमा पुगिरहेका छन् । उम्मेदवार तथा नेता कार्यकर्ताले प्रचार सामग्रीसहित खेतमै पुगेर भोट माग्ने गरेका हुन् ।
ग्रामथान किसानहरुको बसोबास बढी भएको पालिका हो । कामको मुख्य याम भएकाले यतिबेला कृषकलाई पाकेको धान थन्क्याउन भ्याइ नभ्याइ छ । आआफ्नो एजेन्डासहित उम्मेदवारहरु भने खेतमै पुगेर भोट मागिरहेका छन् ।
कांग्रेसबाट बलराम सरदार, एमालेबाट तुलसीराम विश्वास, माओवादीबाट नमोनारायण माझी, एकीकृत समाजवादीबाट दिलबहादुर विक, रास्वपाबाट नवीनकुमार विश्वास र राप्रपाबाट दिनेशकुमार थन्दार (दिवेश) अध्यक्षका उम्मेदवार छन् ।
उनीहरु सबै ग्रामथानमा भिजेका उम्मेदवारहरु हुन् । उम्मेदवार विकास निर्माण, भ्रष्टाचारको अन्त्य, शैक्षिक र स्वास्थ्य क्षेत्रको उन्नयन, खानेपानी, पूर्वाधारदेखि लघुवित्तका समस्या समाधानलगायतका एजेन्डा लिएर मतदातामाझ पुगिरहेका छन् । सबै उम्मेदवारले गाउँका समस्या समाधान गर्ने प्रतिबद्धता जनाइरहेका हुन् ।
किसानको व्यस्त समयका बाबजुद उनीहरु खेतमै पुगेर मत मागिरहेका छन् । फकाएर मतदातालाई आफ्नो पक्षमा पार्ने ध्याउन्नमा उनीहरु केन्द्रित भएका हुन् । जसरी पनि चुनावको नतिजा आफ्नो पक्षा पार्न कम्मर कसेर लागेका छन् ।
कांग्रेसका उम्मेदवार सरदारले कृषि क्षेत्रलाई प्राथमिकता दिएर बिउबिजन र मल किसानलाई समयमै उपलब्ध गराउन भूमिका खेल्ने बताए । उनले ग्रामथान गाउँपालिकाका अधिकांश मानिस कृषि पेसामा आबद्ध भएकाले उनीहरुलाई व्यवसायिक कृषिका लागि आवश्यक पर्ने सिपदेखि मल, बिउसमेतको सहज व्यवस्थापन गरिदिने बताए । त्यस्तै, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी र पूर्वाधार निर्माणमा काम गर्ने उनको भनाइ छ ।
एमाले उम्मेदवार विश्वास पनि घरदैलो कार्यक्रममा व्यस्त छन् । उनी आफू युवा नेता भएकाले जनताको ससाना समस्या समाधानदेखि लिएर विद्यार्थी र युवाको साथ लिएर अगाडि बढ्ने बताउँछन् । कृषि, प्राविधिक शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारमा निर्माणमा आफू लाग्ने उनको प्रतिबद्धता छ ।
माओवादी उम्मेदवार माझीले भ्रष्टाचार र बेथितिको अन्त्य गरी सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्ने बताए । विकास निर्माणमा भएका अवरोधलाई हटाउँदै तीव्र विकास गर्नेेदेखि सामुदायिक विद्यालयको गुणस्तर सुधार, स्वास्थ्य बीमा कार्यक्रमलाई घरघर पुर्याउने , सामाजिक न्याय कायम गर्ने लगायतका लोकप्रिय कार्यक्रम लिएर उनी जनताको घरदैलोमा पुगिरहेका छन् ।
एकीकृत समाजवादीका उम्मेदवार विकले भ्रष्टाचार नियन्त्रण, सुकुम्बासीलाई लालपुर्जाको व्यवस्था, लघुवित्तका समस्या समाधान गर्नेदेखि गरिब र विपन्नलाई १ लाखसम्मको जर्सी गाई किनिदिने योजना रहेको बताए । जर्सी गाई नलिनेलाई १० वटा बाख्राको व्यवस्था गर्ने र बाख्रा पनि नलिनेलाई १० वटा सुँगुरको व्यवस्था गदिदिने उनको प्रतिबद्धता छ ।
रास्वपा उम्मेदवार विश्वासले शिक्षा, स्वास्थ्य, कृषि, युवा स्वरोजगार र विकास निर्माणलाई प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले १८ देखि ४० वर्ष उमेर समूहकालाई जीवन उपयोगी सिपमुलक तालिम दिने, मधुमेह तथा उच्च रक्तचापको निःशुल्क परीक्षण, वैदेशिक रोजगारीमा जानेहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण, गर्भवती महिलाको निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्थादेखि शीत भण्डार बनाउँदै कृषिलाई व्यवसायिक एवं आधुनिकीकरण गर्ने आफ्नो योजना रहेको सुनाए ।
राप्रपाका उम्मेदवार थन्दारले ग्रामथानको जमिन कृषि उपजका लागि योग्य रहेको भएपनि किसानले अहिलेसम्म गुणस्तरीय र उन्नत जातको बिउबिजन एवं मल नपाएकाले यसको व्यवस्थापन गर्नेदेखि कृषि उपजको बजारीकरण र शीत भण्डारको व्यवस्थापन तथा सरकारी विद्यालयको स्तरोन्नति आफ्नो प्रमुख एजेन्डा रहेको बताए । विद्यालयमा स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने उनको भनाइ छ । संघीयताले आर्थिक भार बढाएर देश टाट पल्टेको भन्दै दुई तहको सरकारका लागि पनि आफूले आवाज उठाउने थन्दार बताउँछन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले मनोनयन दर्ताका लागि मंसिर २ गते बिहान १० वजेबाट साँझ ५ बजेसम्मका लागि समय उपलब्ध गराएको छ । कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दंगालका अनुसार ग्रामथानमा १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र तोकिएका छन् । २०७९ साल वैशाखमा भएको निर्वाचनमा भन्दा अहिलेको निर्वाचनमा १ सय २ जना मतदाता बढेको उनको भनाइ छ ।
दंगालका अनुसार ७ वटा वडा रहेको ग्रामथानमा उपनिर्वाचनका लागि २६ हजार ४४ मतदाता रहेका छन् । जसमा १३ हजार ३ पुरुष र १३ हजार ४१ महिला मतदाता छन् ।
ग्रामथान गाउँपालिका–१ मा ३ हजार २ सय ९०, २ मा ४ हजार १ सय ३४, ३ मा २ हजार ९ सय ५३, ४ मा ३ हजार ९ सय ७३, ५ मा ४ हजार ८ सय ३८, ६ मा ३ हजार ७ सय ५५ र ७ मा ३ हजार १ सय १ मतादाता रहेका छन् ।
२०७९ सालमा ग्रामथान गाउँपालिकाको अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । गत असार ३ गते उनको निधन भएसँगै ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।

























