
पोखरा । स्याङ्जा चापाकोट नगरपालिका–९ की सुनीता थापा गण्डकी प्रदेशसभा सदस्य (प्रदेश सांसद) बन्ने भएकी छन् ।
नेपाली कांग्रेसकी सांसद विमला गौचनको कात्तिक २८ गते निधन भएपछि सांसद बन्ने पालो थापाको आएको हो । गौचन प्रदेशसभाको समानुपातिकतर्फ आदिवासी/जनजाति महिला क्लस्टरबाट सांसद बनेकी थिइन् । उनको नाम १ नम्बरमा सिफरिस भएको थियो ।
गौचनको निधनसँगै अब पाँचौं नम्बरमा रहेकी थापाले सांसद बन्ने मौका पाउने छिन् । आदिवासी/जनजाति महिला क्लस्टरबाट यसअघि गौचनसहित पर्वतकी रेखा गुरुङ, कास्कीकी सरस्वती गुरुङ र लमजुङकी पार्वती तामाङ समानुपातिक सांसद बनेका थिए ।
कांग्रेस गण्डकीका महामन्त्री विष्णुप्रसाद लामिछानेका अनुसार अब पाँचौं नम्बरमा रहेकी थापा सांसद बन्ने छिन् । निर्वाचन आयोगले मृत्यु भएपछि पद खाली भएको पत्र पठाउने र त्यसपछि थापाको नाम सिफारिस गरिने उनी बताउँछन् ।
सांसद गौचनको शनिबार म्याग्दीमा अन्त्येष्टि गरिएको छ । थापा अपांगता भएका व्यक्तिहरुको हकहितमा काम गर्दै आएकी नेतृ हुन् । उनी कांग्रेसको गण्डकी प्रदेश महाधिवेशन प्रतिनिधि छन् । कक्षा ६ मा पढ्दै गर्दा बिरामी भएर एक्कासि उनको श्रवण शक्ति गुमेको कांग्रेसले जनाएको छ ।
२०२९ सालमा जन्मिएकी उनी कान सुन्दिनन् । तर, नेपाली, अंग्रेजी प्रस्टसँग बोल्न र आफ्नो भनाइ राख्न सक्छिन् । विभिन्न गैरसरकारी संस्थामा काम गरेको अनुभव पनि उनीसँग छ । उनले स्नातकसम्मको अध्ययन गरेकी छन् ।

























