
काठमाडौं । स्थानीय तहको आगामी उपचुनावका लागि आज (आइतबार)देखि निर्वाचन आचारसंहिता लागू भएको छ ।
निर्वाचन हुने स्थानका जिल्लामा आचारसंहिता लागू भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्मका लागि कायम रहने छ ।
निर्वाचन आयोगको शनिबार बसेको बैठकले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) बमोजिम उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।
निर्वाचन आचारसंहिता लागू भएको जिल्लाको निर्वाचन हुने स्थानीय तह बाहेक अन्य क्षेत्रमा निर्वाचन आचारसंहिताले निषेध गरेका कार्य गर्नु गराउनु परेमा निर्वाचन आयोगलाई पूर्व जानकारी दिएर मात्रै गर्न पाइने छ ।
आयोगकी सहसचिव एवं प्रवक्ता नीता पोखरल अर्यालका अनुसार निर्वाचन आचारसंहिता सम्पूर्ण व्यक्ति, संस्था तथा अधिकारीको कानुनी दायित्व एवं नैतिक बन्धन भएकोले यसको सम्पूर्णरुपले पालना गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रुपमा सम्पन्न गर्ने कार्यमा सबैको सहयोग हुने विश्वास आयोगको छ ।
यदि कहिँकतैबाट निर्वाचन आचार संहिताविपरीतको कार्य भए गरेको पाइएमा वा हुन सक्ने पर्याप्त आधार र कारण देखिएमा मैखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, स्थानीय प्रशासन, नजीकको प्रहरी कार्यालय र सम्बन्धित निर्वाचन कार्यालयमा उजुरी दिइ वा जानकारी गराई आचारसंहिता कार्यान्वयनमा सहयोग गरिदिन आयोगले अनुरोध गरेको छ ।
आयोगले ककसलाई आचारसंहिता लाग्छ भनेर पनि किटान गरेको छ । आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।
यी हुन् आचारसंहिता लाग्नेहरु । यस्तो छ आयोगको निर्णय

























