
काठमाडौं । प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच स्थानीय तहको आगामी निर्वाचनमा तालमेल भएको भएको छ ।
मंसिर १६ को उपचुनावमा काठमाडौंको कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिका–१६ मा दुई पार्टीबीच तालमेल हुने भएको हो । कीर्तिपुरको मेयरमा माओवादीलाई एकीकृत समाजवादीले सघाउने र काठमाडौं–१६ को वडाध्यक्षमा माओवादीले समाजवादीलाई सघाउने निर्णय भएको छ ।
तालमेलका विषयमा छलफल गर्न शनिबार दुई दलको बैठक बसेको थियो । बैठकले कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा माओवादी उम्मेदवार शिवशरण महर्जनलाई नेकपा (एकीकृत समाजवादी)ले समर्थन गर्ने र काठमाडौं – १६ को वडाअध्यक्ष पदका उम्मेदवार मीनबहादुर मानन्धरलाई माओवादीले समर्थन गर्ने निर्णय गरेको हो ।
कीर्तिपुरमा माओवादीले महर्जन र काठमाडौं–१६ मा एकीकृत समाजवादीले मानन्धरलाई उम्मेदवार बनाएका छन् । तालमेल गर्ने सहमति पत्रमा माओवादीका उपाध्यक्ष अग्नि सापकोटा र समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेको हस्ताक्षर छ ।


























