
काठमाडौं । भूमिगत नेकपा (माओवादी)का महासचिव गौरव पर्साबाट पक्राउ परेका छन् ।
पक्राउ परेका गौरव पार्टीका प्रमुख व्यक्ति भएको प्रहरी स्रोत बताएको छ । भूमिगत रुपमा पार्टी गठन गरी चन्दा उठाउने र बम पड्काउने धम्की दिँदै आएका थिए । प्रहरीले झापा र कैलालीमा बम पड्काएको आरोपमा उनलाई पर्साबाट पक्राउ गरेको हो ।
प्रहरीले वीरगन्जमा व्यापारीहरुसँग चन्दा उठाइरहेका बेला पक्राउ गरेको जनाएको छ ।गौरवको पार्टी अहिले भूमिगत रहेको छ ।
प्रहरीले सकेसम्म गौरवको सबै टिमलाई पक्राउ गरेर सार्वजनिक गर्ने तयारी गरेको भए पनि थप अर्को एक जना मात्रै नियन्त्रणमा लिएको स्रोतले जनाएको छ । ‘गौरव नियन्त्रणमा छन्, अन्य केही व्यक्तिको पनि खोजी हुँदैछ’, प्रहरी उच्च स्रोतले भन्यो । उनको पक्राउ बारे प्रहरीले जानकारी दिन चाहेको छैन ।
गौरव नेतृत्वको नेकपा (माओवादी)ले केही दिनअघि मात्रै जनसत्ता गठन गरेको घोषणा गरेको थियो । पार्टीको केन्द्रीय समितिको दोस्रो विस्तारित बैठकले ५ कमाण्ड इन्चार्जसहित जनसत्ताको घोषणा गरेको थियो ।
केन्द्रीय जनसत्ता प्रमुखमा शेखर चयन गरेको जनाएको थियो । पूर्वी कमाण्ड इन्चार्जमा शेखर सिंह, मध्य कमाण्ड इन्चार्जमा अग्नी, मध्यपश्चिम कमाण्ड इन्चार्जमा जावेल, पश्चिम कमाण्ड इन्चार्जमा दीपक, सुदूरपश्चिम कमाण्ड इन्चार्जमा दानसिंहलाई जिम्मेवारी तोकिएको जनाएको थियो ।
जनस्वास्थ्यमा रमाकान्त, अखिल नेपाल ट्रेड युनियन महासंघको संयोजकमा बाबुराम, नेपाल मुस्लिम मुक्ति मोर्चामा कलिमुद्धीन, प्रवास विभागमा समर्पण, अनेमसंघमा सरस्वती चौधरी र नेपाल आदिवासी जनजाति महासंघमा रमालाई जिम्मेवारी दिइएको छ ।
बैठकले मंसिर ८ लाई जनमुक्ति सेना तथा जनसत्ता स्थापना दिवसको अवसरमा मनाउने निर्णय गरेको भए पनि महासचिव गौरव आफै पक्राउ परेका छन् ।

























