
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित मनमोहन प्राविधिक विश्वविद्यालयले कानुन संकायका पढाइ सुरु गर्ने भएको छ ।
विश्वविद्यालयले विराटनगरमा पत्रकार सम्मेलन गर्दै यही पुस, माघ महिनादेखि कानुन सम्बन्धी बीबीए र एलएलएम पढाई सुरु गर्ने जानकारी दिएको छ ।
विश्वविद्यालयले विधिमैत्री, व्यवहारिक र समय सान्दर्भिक कानुनी जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ मनमोहन इस्टिच्युट अफ ल स्थापना गरिएको विश्वविद्यालयका उपकुलपति डाक्टर सुवासश्री पोखरेलले बताए ।
उनले नयाँ नमुना पाठ्यक्रममा आधारित भएर कानुनमा स्नातक तह बीबीए एलएलबीको पढाई सुरु गर्ने बताएका हुन् । कानुन, व्यवस्थापन र प्रविधिमा आधारित दक्ष जनशक्ति उत्पादन गर्ने, कानुन व्यवसायीहरुलाई आत्मनिर्भर बनाउने उनले भने ।
५ वर्षे पाठ्यक्रमले विद्यार्थीहरुलाई देवानी र फौजदारी मुद्दाहरुमा प्राविधिक खोज अनुसन्धान गर्न सहयोग गर्ने छ । ५ वर्षमा विद्यार्थीहरुले प्रतिव्यक्ति ४ लाख ५० हजार शुल्क तिर्नुपर्ने र छात्रवृत्तिको पनि व्यवस्था गरिएको विश्वविद्यालयले जनाएको छ ।
उपकुलपति पोखरेलले कोशी प्रदेश सरकारले स्थापना गरेको कलेज भएकाले थप आर्थिक भार परे सरकारसँग समन्वय गर्ने छ । नेपाल बार काउन्सिलबाट स्वीकृत पाठ्यक्रम भएकोले दक्ष र आत्मनिर्भर कानुन व्यवसायी उत्पादन हुने छन् ।
४५ जनाका लागि पहिलो पटक पढाई सुरु गर्ने कानुन विषयमा २५ सिट प्रदेश सरकारका लािग छुट्टयाएको कानुन संकाय संयोजक कोषराज न्यौपानेले बताए । मनमोहन प्राविधिक विश्वविद्यालयले स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज तथा स्कुल अफ एप्लाइड साइन्सेज र टेक्नोलोजी एण्ड ल सञ्चालन गरिरहेको छ ।

























