
रुकुमपूर्व । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जगत घर्ती रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्ष बनेका छन् ।
उनी निर्विरोध वडाध्यक्ष बनेका हुन् । आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । कांग्रेस–एमालेको गठबन्धनबाट नेकपा (एमाले)का उम्मेदवार जीवन रोकाले उम्मेदवारी फिर्ता लिएका थिए ।
उनको उम्मेदवारी फिर्तासँगै माओवादीका घर्ती निर्विरोध वडाध्यक्ष भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयबाट औपचारिक घोषणा भइसकेको छैन ।
यसअघि २०७९ को निर्वाचना पनि माओवादीका जसबहादुर शिर्पाली विजयी भएका थिए । उनको निधनसँगै पुथाउत्तरगंगा–२ मा वडाध्यक्ष चयनका लागि उपनिर्वाचन हुन लागेको थियो ।
गाउँपालिकाको उपाध्यक्षका लागि मनोनयन दर्ता गराएकी नेकपा (एकीकृत समाजवादी)की उम्मेदवार सुनीता बुढाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । माओवादीबाट गाउँपालिका उपाध्यक्षमा नरपुरा बुढा उम्मेदवार छिन् ।
उपाध्यक्ष पदमा कांग्रेसको चुनाव चिह्नबाट एमालेकी जिल्ला उपसचिव केशकुमारी तुलाचन उम्मेदवार भएर चुनावी मैदानमा छिन् । गत निर्वाचनमा गाउँपालिकाको उपाध्यक्षमा माओवादीकी भूपेन्द्रा बुढा विजयी भएकी थिइन् ।
उनको निधन भएपछि त्यहाँ उपाध्यक्ष चयनका लागि उपनिर्वाचन हुने भएको हो । उपाध्यक्ष बुढासहित वडा नम्बर २ का वडाध्यक्ष शिर्पालीको बागलुङमा भएको दुर्घटनामा परेर निधन भएको थियो ।

























