
विराटनगर । खानेपानी मन्त्री प्रदीप यादवले संगठन निर्माणमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
यादव अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का उपमहासचिव हुन् । पार्टीलाई बलियो बनाउन गाउँगाउँ र टोलटोलमा संगठन विस्तार गर्न उनले कार्यकर्तालाई निर्देशन दिएका छन् ।
विराटनगर महानगरपालिका–९ ट्राफिक चोकमा आइतबार जसपा मोरङको जिल्ला कार्यालय उद्घाटन गर्दै यादवले यस्तो निर्देशन दिएका हुन् । उनले जसपा अन्य कुनै पार्टीमा विलय नहुने स्पष्ट पारे । मन्त्री यादवले आगामी तीन वर्षभित्र जसपालाई मुलुकको मुख्य पार्टी बनाएर छाड्ने उद्घोष गरेका छन् ।
उपेन्द्र यादव नेतृत्वको जसपाबाहेक तराई–मधेस केन्द्रित अन्य दलको एउटै मोर्चा निर्माणको प्रक्रियामा रहेको उनको भनाइ छ । अनेक बाधालाई चिर्दै पार्टीलाई शक्तिशाली बनाउने काम भइरहेको यादवले बताए ।
देश र जनताको उत्थान तथा विकासका लागि दुई ठूला दल कांग्रेस र एमाले एक ठाउँमा उभिएर देश सञ्चालन गरिरहेको भन्दै उनले २०८४ सम्म यही सरकारले निरन्तरता पाउने दाबी गरे । आजको आवश्यकताकै कारण अहिलेको सरकार बनेको उनको जिकिर छ ।
झापा, मोरङका जिल्लामा आएर समस्या बुझेको र खानेपानीमा धेरै समस्या देखिएको बताउँदै मन्त्री यादवले त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्नेमा आफू केन्द्रित रहेको सुनाए । सरकारको उद्देश्य अनुरुप नेपाली जनतालाई चाँडै स्वास्थ्य र गुणस्तरीय खानेपानी उपलब्ध गराइने उनको भनाइ छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव स्वार्थमा केन्द्रित भएकाले आफूहरु पार्टीबाट अलग भएको धारणा उनले राखेका छन् । कार्यक्रममा पार्टीका कोशी प्रदेश उपाध्यक्ष केशव गुरुङ र जिल्ला अध्यक्ष मोहम्मद नसरुलले प्रदेश तथा जिल्लामा पार्टीको संगठन विस्तार तीव्र गतिमा भइरहेको र पार्टीप्रति जनताको आकर्षण बढ्दै गइरहेको बताए ।

























