
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन भ्रमणमा जाने भएकी छन् । मंसिर १३ गते उनी चीन जान लागेकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते चीन भ्रमणमा जाने बताइएको छ । त्यसको तयारीका लागि परराष्ट्रमन्त्री राणा चीन भ्रमणमा जान लागेकी हुन् । उनी आगामी बिहीबार सिधै बेइजिङ जाने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।
राणाले जापानमा स्वास्थ्य उपचार गराएर उतैबाट चीन जाने तयारी गरेकी थिइन् । तर, चिकित्सकले समय नदिएको भन्दै जापान जाने कार्यक्रम स्थगित गरिएको छ । जापान नगइकन उनी बेइजिङ जाने छिन् ।
‘मन्त्रीज्यू स्वास्थ्य परीक्षण गर्न मंसिर १० गते जापान जाने कार्यक्रम तय भएको थियो। तर, डाक्टरको समय मिलेन । जापान जाने कार्यक्रम स्थगित भयो,’ उनीनिकट स्रोतले भन्यो । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा उठाइने विषयका बारेमा सरकारले आन्तरिक छलफल गरिरहेको छ।
परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री ओली बेइजिङ पुग्नुअघि समकक्षी वाङ यीलगायत चिनियाँ उच्च अधिकारीहरूसँग द्विपक्षीय बैठकमा उठाउने विषयका बारेमा छलफल गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। बेइजिङमा प्रधानमन्त्रीको भ्रमणमा हुने सम्झौतालगायतका विषयमा आवश्यक तयारी गर्न त्यसअघि नै राणा चीन जान लागेकी हुन् ।

























