मानव तस्करी प्रकरण : कोशीका तत्कालीन मन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १०, सोमबार १७:२७

काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचल्ने भएको छ ।

मानव तस्करीको आरोपमा उनी पक्राउ परेका थिए । सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा चलाउनलाई पर्याप्त आधार र प्रमाण नदेखिएको भन्दै अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ ।

काठमाडौंका जिल्ला न्यायाधीवक्ता सीताराम अर्यालले अधिकारीलाई मुद्दा नचलाउने निर्णय भएको जानकारी दिए । यही मुद्दामा प्रतिबादी बनाइएका अन्य ११ जनाविरुद्ध भने मुद्दा चल्ने भएको छ । प्रहरीले अनुसन्धान सकेर मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाएपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै अभियुक्तविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

अर्यालका अनुसार ११ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको हो । मुद्दामा जनक राई, दावा शेर्पा, कञ्चन देवकोटा, महेश पाण्डे, जुगल रिजाल, वीरबहादुर सुनुवार, गुडी राई, नवीन राई, दिवाकरबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई र योगराज गौतमलाई प्रतिवादी बनाइएको छ । अभियुक्तमध्ये ३ जना अझैसम्म फरार छन् ।

फरार भएकाको प्रहरीले खोजी गरिरहेको छ । विवादास्पद हिसाबले जापान भ्रमणमा गएका अधिकारीले असम्बन्धित व्यक्तिहरु पनि आफूसँगै जान लागेपछि कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङ र नेपाल प्रहरीको विशेष ब्युरोका डीआईजी राजन अधिकारीलाई जानकारी गराएका थिए ।

डीआईजीद्ववयलाई दिएको जानकारीका आधारमा उनलाई मुद्दा नचलाउने निर्णय भएको स्रोतले बतायो । ‘घटनाका बारेमा अधिकारीले पहिले नै प्रहरी अधिकारीहरुलाई जानकारी गराइसकेको पाइयो । त्यहाँमाथि अनुसन्धानबाट मानव तस्करी प्रमाणित हुने आधारहरु भेटिएनन् । आधार र प्रमाण नै फेला नपरेपछि मुद्दा नचलाउने निर्णय गर्नु परेको हो,’ स्रोतले भन्यो ।

गैरकानुनी हिसाबले जापान प्रवेश गर्न खोजेको भन्दै त्यहाँको अध्यागमनले मन्त्री अधिकारीसहित ४ जनालाई ‘डिपोर्ट’ गरेर नेपाल फिर्ता पठाएको कुरा बाहिर आएको थियो । तर, अनुसन्धानबाट अधिकारी आफैंले अध्यागमनलाई जानकारी गराएर फर्किएको पत्ता लागेको छ । अरु ३ जनालाई चैं ‘डिपोर्ट’ गरेर फिर्ता पठाइएको यकिन भएको अर्यालले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सीसी क्यामेरा फुटेजबाट पनि उनी अन्य युवासँग गएको नदेखिएको प्रहरीले जनाएको छ । अर्कोतर्फ अधिकारीले अनुसन्धानमा जुनसुकै सहयोग गर्न पनि तयार रहेको सार्वजनिक हिसाबले बताउँदै आएका थिए । उनले मानव तस्करको गिरोहले आफूसँगै ३ जनालाई गैरकानुनी हिसाबले पठाउन खोजेपछि जापानको कार्यक्रममा सहभागी नभइकन आफू नेपाल फर्किएको बयान दिएका छन् ।

पूर्वमन्त्री अधिकारी जापानको टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन भन्दै कात्तिक ११ गते क्याथे प्यासिफिकको उडानमार्फत जापान उडेका थिए । तर, सरकारको स्वीकृति बिना नै जापान गएको पाइएपछि उनको भ्रमण विवादमा परेको थियो । त्यहाँमाथि मानव तस्करी गरेको आरोपसमेत उनीमाथि लाग्यो ।

उनी नेकपा (एमाले)बाट मोरङको निर्वाचन क्षेत्र नम्बर २ को ‘ख’बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । भ्रमण विवादमा परेपछि उनले मन्त्री पदबाट राजीनामा दिए । भ्रमणमा विवादमा परेपछि अधिकारीले एमालेको सबै जिम्मेवारीबाट आफूलाई हटाउनुपर्ने मागसहित पार्टीलाई निवेदन दिएका थिए । त्यसपछि पार्टीले उनलाई तत्कालका लागि निलम्बन गरेको थियो ।

अधिकारीसँगै जापान गएका खोटाङको केपिलासलगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई, खोटाङको ऐँसेलुखर्क गाउँपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका–५ का २१ वर्षीय कञ्चन देवकोटा जापान जान खोजेका थिए । मानव तस्करको गिरोहले लुकिछिपी उतै बस्ने गरी उनीलाई मन्त्रीकै साथ लगाएर जापान पठाएको अनुसन्धानबाट खुलेको छ । तर, अधिकारीसँग उनीहरुको भेट हङकङमा मात्रै भएको पत्ता लागेको छ ।

कात्तिक १४ गते नेपाल फर्किएपछि तीनै जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धानको दायरामा ल्यायो । मन्त्री अधिकारीलाई भने कात्तिक २५ गते विराटनगरस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो । यो प्रकरणमा मुछिएका नुवाकोटका २२ वर्षीय जुगल रिजाल, दोलखाका ३० वर्षीय वीरबहादुर सुनुवार र धादिङको त्रिपुरा सुन्दरीका ३४ वर्षीय महेश पाण्डेसमेत पछि पक्राउ परे ।

पक्राउ पर्नेमध्ये शेर्पाका भाइ जापानमा बस्छन् । नेपालमा ट्रेकिङको काम गर्ने शेर्पाका भाइले दोलखाका वीरबहादुरलाई चिनेका थिए । त्यही चिनजानका कारण जापान जान शेर्पाले वीरबहादुरको बैंक खातामा ११ लाख ५५ हजार ‘डिपोजिट’ गरिदिएको अनुसन्धानबाट यकिन भएको छ । जापान जान देवकोटाले १० लाख बुझाएको पत्ता लागेको छ ।

जापानबाट फिर्ता भएका शेर्पाको साथबाट खोटाङस्थित ऐँसेलुखर्क गाउँपालिका–२ को वडा सदस्यको परिचयपत्र र देवकोटा तथा राईले साथबाट कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ‘सहायक’ कर्मचारीको नक्कली परिचयपत्र फेला परेको थियो ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.