
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा हुन लागेको उपनिर्वाचनका लागि निर्वाचन सामग्री प्रदेश निर्वाचन कार्यालय विराटनगरमा आइपुगेको छ ।
मंसिर १६ गते हुने गाउँपालिका अध्यक्ष पदको निर्वाचनका लागि आवश्यक मतपत्र र मतपेटिकालगायत सम्पूर्ण सामग्री निर्वाचन कार्यालयमा आईपुगेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए ।
उनले उपनिर्वाचनका लागि आएका आवश्यक सामग्रीहरु बिहीबारसम्म मतदान केन्द्रमा पुर्याइसक्ने बताए ।
मतदान केन्द्र रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दंगालले बुधबार मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अभिमुखीकरण कार्यक्रम रहेको बताए ।

ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि १५ वटा विभिन्न राजनीतिक दलका उम्मेदवार र १ स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।
उपनिर्वाचनका लागि ग्रामथानमा २६ हजार ४४ मतदाता छन् । ७ वडामा रहेको पालिकामा १२ वटा मतदान स्थल र २९ वटा मतदान केन्द्र रहेका छन् ।

























