
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसलाई आफूले प्रधानमन्त्रीको ‘अफर’ नगरेको बताएका छन् ।
सत्ता परिवर्तनका लागि कांग्रेससँग पहल नगरेको उनको स्पष्टोक्ति छ । प्रचण्डले सरकार परिवर्तन गर्न र कांग्रेसलाई प्रधानमन्त्री बन्न ‘अफर’ नगरेको बताएका हुन् ।
प्रचण्डले कांग्रेसलाई प्रधानमन्त्री बनिदिन आग्रह गरेको दाबी कांग्रेस महामन्त्री गगन थापाले गर्दै आएका छन् । प्रचण्डले थापाको दाबी अस्वीकार गरेका हुन् ।
खुमलटारमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग आफ्नो सरकार परिवर्तनको बारे कुनै कुरा नभएको बताए । प्रचण्डले महामन्त्री थापालाई आफ्नो अभिव्यक्तिबारे आत्मसमीक्षा गर्न आग्रहसमेत गरेका छन् ।
‘सत्ता परिवर्तनको कुरा अघि बढाएको बिल्कुल होइन । यो भन्दा सफेद झुट अरु केही हुनै सक्दैन,’ प्रचण्डले भने । झुटो कुरो जनतासँग बोलेको देख्दा गगन थापाप्रति दया लागेर आएको उनले बताए ।
सरकार परिवर्तनका लागि पहल गरेको र कांग्रेसलाई प्रधानमन्त्री बन्न आग्रह गरेको कुरा शतप्रतिशत झुटो रहेको प्रचण्डको स्पोष्टोक्ति छ । बरु माओवादीलाई सरकारबाट बाहिर बसेर जनतामा जाँदा फाइदा पुगिरहेको र अहिले पार्टीलाई सरकारमा जाने हतारो नरहेको उनले बताए ।

























