मोरङको ग्रामथानमा उपनिर्वाचन : ढुक्क भएर मतदान गर्न आह्वान

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १५, शनिबार १८:१५

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा आइतबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।

आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ । सहायक निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार उपनिर्वाचनका लागि सबै मतदान केन्द्रमा आवश्यक निर्वाचन सामग्री पठाउनुका साथै कर्मचारीहरु खटाइसकिएको छ ।

‘मतदान केन्द्रको निर्माण गरिसकिएको छ । सबै बुथमा सर्वदलीय बैठक पनि भइसक्यो,’ उनले भने । निर्वाचनलाई सहज हिसाबले सम्पन्न गर्न सर्वदलीय बैठक राखेर उम्मेदवारका प्रतिनिधि तोक्ने काम भइसकेको पौडेलले बताए ।

उनका अनुसार ग्रामथान गाउँपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणनास्थल पनि तयारी अवस्थामा राखिएको छ । ‘मतदान सकिएपछि मतपेटिकाहरु संकलन गरेर मतगणनास्थलमा ल्याइने छ,’ पौडेलले भने, ‘सर्वदलीय बैठक राखेर सहमति गरिसकेपछि मतगणना सुरु हुने छ ।’

मतदान केन्द्रमा समग्र सुरक्षाको राम्रो प्रबन्ध गरिएको मुख्य निर्वाचन अधिकृत उद्धवप्रसाद भट्टराईले बताए । मतदाता र मतदान केन्द्रको सुरक्षामा कुनै कमजोरी हुन नपाउने भन्दै सबैलाई ढुक्क भएर मतदानमा सहभागी हुन मुख्य निर्वाचन अधिकृत भट्टराईले आह्वान गरेका छन् ।

‘मतदाता, कर्मचारी, उम्मेदवार र केन्द्रको सुरक्षामा कुनै कमजोरी हुने छैन । सबैले ढुक्क भएर मतदान गर्न सक्नु हुने छ,’ उनले भने । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर निर्वाचनका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्दै सुरक्षित वातावरण तयार पारिएको भट्टराईको भनाइ छ ।

२६ हजार ४४ मतदाता रहेको ग्रामथानमा १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्ला सुरक्षा समितिले मतदानस्थलमध्ये ४ वटालाई संवेदनशील र ८ वटालाई सामान्यको सूचीमा राखेर वर्गीकरण गरेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सुरक्षाका दृष्टिकोणले संवेदनशील र सामान्य भनेर वर्गीकरण गर्दै मतदानस्थलमा त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाइएको बताए । उनले निर्वाचनमा कुनै सुरक्षा चुनौती आउन नदिन मजवुत हिसाबले सुरक्षा संयन्त्र परिचालन गरिएको जनाकारी दिए ।

‘मतदानका समययमा झगडा र विवाद हुन दिइने छैन । कुनै हिसाबले वैमनस्यता उत्पन्न हुने अवस्था आयो भने तत्काल नियन्त्रणमा लिइने छ,’ उनी भन्छन्, ‘उच्छृङ्खल गतिविधि गर्न खोज्ने शंकास्पद व्यक्तिमाथि निगरानी बढाउन थालिएको छ । उद्धण्ड गतिविधि गर्ने र निर्वाचन भाँड्न खोज्नेलाई कारबाहीको दायरामा ल्याइने छ ।’

सुरक्षामा कुनै चुनौती नरहेको र मतदाताले ढुक्क भएर मतदानमा सहभागी हुनसक्ने वातावरण बनाइएको प्रजिअ भट्टराईको भनाइ छ । मतदानस्थल र मतदान केन्द्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । उपनिर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना बनाएर ग्रामथानमा लागू गरिएको छ ।

मतदानस्थल र मतदान केन्द्रको सुरक्षाका लागि ३ घेराको सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ भट्टराईले बताए । उनका अनुसार मतदानस्थल र केन्द्रको भित्रीदेखि सबै सुरक्षाको जिम्मा नेपाल प्रहरीको हो । सशस्त्र प्रहरी दोस्रो अर्थात बीचमा र नेपाली सेना तेस्रो अर्थात बाहिरी सुरक्षा घेरामा रहने उनले बताए ।

प्रजिअ भट्टराईले मतगणनास्थलमा पनि त्यसरी नै सुरक्षा प्रबन्ध मिलाइने जानकारी दिए । ‘सुरक्षाका लागि नेपाल र सशस्त्र प्रहरी तथा नेपाली सेनालाई विशेष जिम्मेवारी दिएर परिचालन गरिने छ । ३ घेराको सुरक्षा व्यस्था मिलाइएको छ,’ उनले भने ।

मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले उपनिर्वाचनको समग्र सुरक्षाका लागि डीएसपीकै नेतृत्वमा प्रहरी परिचालन गरिएको जानकारी दिए । मतदानस्थलमध्ये संवेदनशीलमा इन्स्पेक्टर तथा सामान्यमा वरिष्ठ सइ र सइको नेतृत्वमा प्रहरी परिचालन गरिएको चिमरियाको भनाइ छ ।

उनका अनुसार मतदान अवधिभर सिनियर प्रहरी अधिकृतको नेतृत्वमा ४ वटा मोबाइल गस्ती परिचालन गरिने छ । त्यसबाहेक रिजर्ब र स्ट्राइकिङ टोली पनि रहने जानकारी एसपी चिमरियाले दिए । उनका अनुसार सूचना संकलन गर्न र शंकास्पद व्यक्तिमाथि निगरानी बढाउन अलग्गै टोली हुने छ ।

निर्वाचनलाई लक्षित गरेर सशस्त्र प्रहरीले २ जना डीएसपीको नेतृत्वमा टोली खटाएको छ । निर्वाचन सुरक्षा बेस कमाण्ड र अनुगमन भनेर अलगअलग टोली खटाइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी विश्व खड्काले बताए । त्यसबाहेक जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु आफैं मतदानस्थलमा खटिने छन् ।

मतदानस्थलमध्ये ग्रामथान–१ को लखन्तरीस्थित वीरेन्द्र माविमा ३, खुनियाकट्टास्थित बेगन आधारभूत विद्यालयमा १, २ स्थित वडा कार्यालयमा २, झोराहाटस्थित सरस्वती माविमा २, ३ को भौसाबाडीस्थित राधाकृष्ण आधारभूत विद्यालयमा २ र सिद्राहास्थित वाणी माविमा २ वटा केन्द्र तोकिएका छन् ।

त्यस्तै, ग्रामथान–४ को लोहासुरस्थित महेन्द्र माविमा २ र मोतीपुरस्थित लोहन्द्रा आधारभूत विद्यालयमा २, ५ को तेतरियास्थित देवी माविमा ५, ६ को रविहाटस्थित पब्लिक माविमा ४, ७ को धोवियारेस्थित गणेश माविमा ३ र बनिगास्थित सरस्वती आधारभूत विद्यालयमा १ वटा केन्द्र कायम गरिएको छ ।

ग्रामथानको अध्यक्षमा यसअघि २०७९ मा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । गत असार ३ गते उनको निधन भएपछि आइतबार उपनिर्वाचन हुन लागेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.