मतदानको समय सुरु, ग्रामथानमा पुगेनन् मतदाता

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १६, आइतबार ०७:१५

विराटनगर । स्थानीय तह उपनिर्वाचनको मतदान गर्ने समय सुरु भएको छ । निर्वाचन आयोगले मतदानका लागि आज (आइतबार) बिहान ७ देखि साँझ ५ बजेसम्मको समय तोकेको छ ।

मोरङको ग्रामथान गाउँपालिकामा पनि अध्यक्ष चयनका लागि उपनिर्वाचन हुँदैछ । तर, अधिकांश मतदान केन्द्रमा मतदान सुरु भएको छैन । सहायक निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार मतदानका लागि सबै तयारी पूरा भइसकेको छ ।

‘दलका प्रतिनिधि बुथमा बसिसके । मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर गरिरहनु भएको छ,’ पौडेलले भने, ‘तर, अधिकांश मतदान केन्द्रमा मतदाता आइपुगेका छैनन् । मतदाता नआएकाले मतदान सुरु भइसकेको छैन ।’ पौडेल अहिले ग्रामथान–५ को देवी मावि मतदानस्थलमा छन् ।

उक्त मतदानस्थलमा अहिलेसम्म मतदाता आइनपुगेको उनले बताए । पौडेलका अनुसार ग्रामथान–१ को खुनियाकट्टास्थित बेगन आधारभूत विद्यालय मतदान केन्द्रमा चैं मतदान सुरु भइसकेको छ ।

‘केही मतदान केन्द्रमा मतदान सुरु भइसकेको छ । अधिकांशमा मतदाता नआएकाले सुरु हुन सकेको छैन । बिहानै भएकाले मतदान केन्द्रमा मतदाता आइनपुगेको हुनसक्छ,’ उनले भने । ७ वटा वडा रहेको ग्रामथानमा २६ हजार ४४ मतदाता छन् । १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र तोकिएको छ ।

ग्रामथानको अध्यक्षमा यसअघि २०७९ मा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । गत असार ३ गते उनको निधन भएपछि आज उपनिर्वाचन हुँदैछ ।

ग्रामथानको अध्यक्षमा एमालेबाट तुलसीराम विश्वास, कांग्रेसबाट बलराम सरदार, माओवादी केन्द्रबाट नमोनारायण माझी, रास्वपाबाट नवीनकुमार विश्वास, राप्रपाबाट दिनेशकुमार थन्दार (दिवेश), अशोक राई नेतृत्वको जसपाबाट धर्मेन्द्रकुमार चौधरी उम्मेदवार छन् ।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, एकीकृत समाजवादी पार्टीबाट दिलबहादुर विश्वकर्मा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सुरेशकुमार राजवंशी, समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी, नेमकिपाबाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहर र नमनारायण चौधरी स्वतन्त्र उम्मेदवार छन् ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.