मोरङको ग्रामथान : मतदान गर्नेमा महिला धेरै, ६३ प्रतिशत मत खस्यो

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १६, आइतबार १५:२३

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा मतदान गर्नेमा पुरुषभन्दा महिलाको संख्या धेरै रहेको छ । दिउँसो ३ बजेसम्मको तथ्यांक अनुसार पुरुषभन्दा झन्डै १ हजार बढी महिला मतदानमा सहभागी भएका हुन् ।

१२ मतदानस्थल र २९ मतदान केन्द्र तोकिएको ग्रामथानमा अहिलेसम्म १६ हजार ४ सय ८२ मत खसेको छ । मतदान गर्नेमध्ये ८ हजार ७ सय १२ जना महिला र ७ हजार ७ सय ७० जना पुरुष रहेका हुन् ।

ग्रामथानमा २६ हजार ४४ मतदाता छ । जसमा १३ हजार ४१ महिला र १३ हजार ३ पुरुष रहेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो ३ बजेसम्म ६३ प्रतिशत मतदान भइसकेको छ । विभिन्न मतदान केन्द्रमा अहिले पनि शान्तिपूर्ण रूपमा मतदान जारी रहेको र ६३ प्रतिशत मत खसेको कार्यालयले जनाएको छ ।

मतदानस्थलमध्ये ग्रामथान–१ को खुनियाकट्टास्थित बेगन आधारभूत विद्यालयमा ५ सय ८७, लखन्तरीस्थित वीरेन्द्र माविमा १ हजार ७ सय ६३, ग्रामथान–२ झोराहाटस्थित सरस्वती माविमा १ हजार २ सय ९५, वडा कार्यालयमा १ हजार ४ सय ९, ग्रामथान–३ को सिद्राहास्थित वाणी माविमा १ हजार ६१ र भौसाबाडीस्थित राधाकृष्ण आधारभूत विद्यालयमा ९ सय २५ मत खसेको छ ।

त्यस्तै, ग्रामथान–४ को मोतीपुरस्थित लोहन्द्रा आधारभूत विद्यालयमा १ हजार १ सय ९२, लोहासुरस्थित महेन्द्र माविमा १ हजार ३ सय १३, ग्रामथान–५ को तेतरियास्थित देवी माविमा २ हजार ७ सय ५४, ग्रामथान–६ को रविहाटस्थित पब्लिक माविमा २ हजार २ सय ८४, ग्रामथान–७ को धोवियारेस्थित गणेश माविमा १ हजार ३ सय ४५ र बनिगास्थित सरस्वती आधारभूत विद्यालयमा ५ सय ५४ खसेको छ ।

पालिका अध्यक्ष चयनका लागि ग्रामथानमा उपनिर्वाचन भरहेको हो । साँझ ५ बजेसम्म मतदान जारी रहने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.