ग्रामथानमा ७० प्रतिशतभन्दा बढी मत खस्ने अनुमान

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १६, आइतबार १५:३८

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष चयनका लागि मतदान जारी छ ।

बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिने छ । मतदान गर्ने समय अब करिब डेढ घण्टा बाँकी छ । मतदाताले लाइनमा बसेर पालैपालो मतदान गरिरहेका छन् । अहिलेसम्म निर्वाचन शान्तिपूर्ण छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामराज पौडेलले मतदानमा उत्साहपूर्ण सहभागिता देखिएको बताए । उनका अनुसार अहिलेसम्मको अवस्था हेर्दा ७० प्रतिशत बढी मत खस्ने अनुमान गरिएको छ ।

दिउँसो ३ बजेसम्ममा ६३ प्रतिशत मत झरिसकेको छ । अझै पनि मतदान केन्द्रहरुमा मतदाताको लाम लागिरहेको छ । मतदान गर्नेमा पुरुषभन्दा महिला धेरै छन् । अहिलेसम्म मतदान गर्नेमा पुरुषभन्दा झन्डै १ हजार बढी महिला छन् ।

अहिलेसम्म १६ हजार ४ सय ८२ मत खसेको छ । मतदान गर्नेमध्ये ८ हजार ७ सय १२ जना महिला र ७ हजार ७ सय ७० जना पुरुष रहेका हुन् । ग्रामथानमा २६ हजार ४४ मतदाता छ ।

मतदाताको संख्या भने पुरुषको बढी छ । मतदातामध्ये १३ हजार ४१ महिला र १३ हजार ३ पुरुष रहेका हुन् । ग्रामथानमा १२ मतदानस्थल र २९ मतदान केन्द्र छन् ।

२०७९ सालको स्थानीय तह निर्वाचनबाट कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । उनको गत असार ३ गते निधन भयो । रिक्त रहेको अध्यक्ष पदका लागि उचुनाव भइरहेको हो ।

विभिन्न राजनीतिक दलका १५ र स्वतन्त्र १ गरेर १६ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.