ग्रामथानमा सकियो मतदान, ७१.३३ प्रतिशत मत खस्यो

Share this
787shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १६, आइतबार १७:२४

विराटनगर । स्थानीय तह उपनिर्वाचनअन्तर्गत मोरङको ग्रामथान गाउँपालिकामा मतदान सकिएको छ ।

सहायक निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार ७१.३३ प्रतिशत मत खसेको छ । ७ वटा वडा रहेको ग्रामथानमा २६ हजार ४४ मतदाता थिए । तीमध्ये १८ हजार ५ सय ७७ जना मतदानमा सहभागी भएको पौडेलले बताए ।

मतदानमा पुरुषभन्दा बढी महिला सहभागी भएका छन् । ९ हजार ६ सय ७७ जना महिला र ८ हजार ९ सय पुरुष मतदानमा सहभागी भएको जानकारी पौडेलले दिए ।

मतदाताको संख्या पनि पुरुषभन्दा महिलाको धेरै थियो । १३ हजार ४१ महिला र १३ हजार ३ पुरुष मतदाता रहेका थिए । मतदातामध्ये ७ हजार ४ सय ६७ जना मतदानमा सहभागी भएनन् ।

आज (आइतबार) बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको थियो । ग्रामथानमा १२ मतदानस्थल र २९ मतदान केन्द्र कायम गरिएको थियो । विभिन्न दलबाट १५ र स्वतन्त्र १ सहित १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।

मतदान सकिएसँगै मतपेटिका संकलनको काम सुरु भएको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भट्टराईले बताए । उनका अनुसार मतपेटिका संकलन सकिएपछि मतगणना सुरु गरिने छ ।

सर्वदलीय सहमति जुटेमा आजै रातिबाट मतगणना सुरु गर्ने तयारी छ । मतपेटिका संकलन सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाउने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.