नमोनारायण माझी : कांग्रेस छाडेर माओवादीमा गए, अहिले गाउँपालिका अध्यक्ष भए

Share this
786shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १७, सोमबार १३:२६

विराटनगर । नमोनारायण माझीले २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको उम्मेदवार बन्ने चाहना राखेका थिए ।

तर, पार्टीले पत्याएन । पालिका अध्यक्ष नभए पनि ग्रामथान–१ बाट वडाध्यक्षको उम्मेदवार बन्न खोजे । वडाध्यक्षमा पनि पार्टीले टिकट दिएन । त्यसपछि स्वतन्त्र उम्मेदवार बनेर चुनावमा होमिए । जित्न सकेनन् । कांग्रेसका सुरेशकुमार माझी वडाध्यक्ष निर्वाचित हुँदा उनी तेस्रो भए ।

नमोनारायण माझी २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)बाट ग्रामथान–१ को वडाध्यक्ष निर्वाचित भएका थिए । तर, फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएसँगै उनी पनि कांग्रेसमा गए । त्यसपछि कांग्रेसले उनलाई अवसर दिन चाहेन ।

यद्यपि, २०५४ सालको स्थानीय निकाय निर्वाचनमा उनी कांग्रेसबाटै तत्कालीन लखन्तरी गाविस (गाउँ विकास समिति)को अध्यक्ष निर्वाचित भएका थिए । लखन्तरी हाल ग्रामथान–१ मा पर्छ । २०५९ सालमा गाविस अध्यक्षको कार्यकाल सकिएसँगै उनी विदेशिए ।

गाउँमा माओवादीले दिएको पीडा सहन नसकेर नेपाल छाडेका उनले १४ वर्ष विदेशमै बिताए । ७ वर्ष मलेसिया र ७ वर्ष दुबई बसेर फर्किएपछि उनले वडाध्यक्षमा चुनाव लडेर जितेका थिए ।

२०७९ सालमा कांग्रेसले वडाध्यक्षको समेत टिकट नदिएछि स्वतन्त्र बनेका उनी पार्टीमा फर्किएनन् । गत भदौ २९ गते नेकपा (माओवादी केन्द्रमा) प्रवेश गरे । नेताचोकमा आयोजित सभामा पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै माझीलाई पार्टीमा स्वागत गरेका हुन् ।

अन्य पार्टीका कार्यकर्ता पनि त्यतिबेला माओवादीमा प्रवेश गरेका थिए । माओवादीले गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने सर्तमा उनलाई भित्राएको थियो । माओवादी नेता एवं संघीय सांसद अमनलाल मोदीले पार्टी प्रवेश गराउनेदेखि टिकट दिलाउनेसम्मको भूमिका खेलेका थिए ।

कांग्रेस छाडेर स्वतन्त्र बसेका माझी माओवादीमा प्रवेश गरेर उपनिर्वाचनमार्फत कांग्रेसलाई नै पछि पार्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । ६ हजार ९ सय ६९ मत पाएर गाउँपालिका अध्यक्ष भएका उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका बलराम सरदार थारु ५ हजार ३ स ३३ मतमा सीमित हुन पुगे । उनीहरुबीचको मतान्तर १ हजार ६ सय ३६ छ ।

नेकपा (एमाले) तेस्रो भएको छ । एमाले उम्मेदवार तुलसीराम विश्वास ४ हजार १ सय ५९ मतमा खुम्चिए । २६ हजार ४४ मतदाता रहेको ग्रामथानमा १८ हजार ५ सय ५६ मत खसेको थियो । १८ हजार २ सय ७ मत सदर भएको छ ।

यसअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयले १८ हजार ५ सय ७७ मत खसेको जानकारी दिएको थियो । तर, मतपेटिकाभित्र २१ मत कम रहेको पाइएको कार्यालयका सहायक निर्वाचन अधिकृत रामराज पौडेलले बताए । ‘मुचुल्का उठाउँदा मत संख्यामा केही तलमाथि भएछ,’ उनले भने ।

ग्रामथानको अध्यक्ष निर्वाचित माझी जनसरोकारका मुद्दामा आवाज उठाइरहने आँटिला उम्मेदवार भनेर चिनिन्थे । नागरिक सरोकारको विषयलाई उठाउँदा आफूविरुद्ध मुद्दा चलेको बताउने गर्थे । ग्रामथान–१ को रामजानकी मन्दिरका लागि बजेट माग गर्दै २०८० चैत ११ गते गाउँपालिकाको कार्यालयमा उनकै नेतृत्वमा प्रदर्शन भएको थियो ।

त्यतिबेला गाउँपालिकामा तोडफोडको प्रयाससमेत भयो । कार्यपालिका बैठक चलिरहेको बेला हुलहुज्जत गरेको भन्दै गाउँपालिकाको तर्फबाट जाहेरी परेपछि प्रहरीले उनीसहित ९ जनालाई पक्राउ गरेर अभद्र व्यवहारको मुद्दा चलायो । जिल्ला प्रशासन कार्यालय मोरङले २०८१ भदौ १७ गते सबै प्रतिवादीलाई जरिबाना हुने फैसला सुनायो ।

पालिकाको नेतृत्वले काम नगरेको भनेर विरोध गर्दा र गाउँको मन्दिर बनाउन बजेट माग्दा आफूविरुद्ध मुद्दा चलेको माझी बताउँछन् । ‘त्यो मुद्दा चलेपछि मेरो ‘हाइट’ झन् बढ्यो । जनताले मलाई झन् मन पराए,’ उनले भन्ने गरेका छन्, ‘विकासको माग गर्दा त्यत्तिकै मुद्दा चलाइयो । मुद्दा चल्ने गरी केही गरिएकै थिएन ।’

मुद्दा चलेपछि आफ्नो ‘हाइट’ बढेको बताउने माझी अहिले जनमत प्राप्त गरेर सिँगो गाउँपालिका हाँक्ने ठाउँमा पुगेका छन् । पालिकाको नेतृत्वले काम नगरेको भनेर बारम्बार आवाज उठाउने र दबाब दिइरहने उनी अब आफैं त्यस्ता आवाजको सुनुवाइ गर्नुपर्ने तहमा पुगेका हुन् ।

माझीले २०४५ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका थिए । उपनिर्वाचनमा ग्रामथानको अध्यक्षका उम्मेदवार भइरहँदा उनको भन्दा माओवादी नेता मोदीको चर्चा धेरै थियो । मोदी भर्सेस कांग्रेस–एमाले भनेर चर्चा हुन्थ्यो ।

वास्तवमै ठूलै शक्ति खर्च गरेका कांग्रेस र एमालेलाई पछि पार्दै मोदीको रोजाइमा परेका माझीले उपचुनावमा बाजी मारे । आज माझीको जित हुनुमा मोदीको मिहिनेत र ‘क्रेज’नै प्रमुख कारण रहेको बताइन्छ । माझीको विजयसँगै मोदीको राजनीतिक उचाइ र चर्चा झन् चुलिएको छ ।

चुनावी अभियानका क्रममा फरक पार्टीबाट जितेका कारण आफूले केन्द्रबाट ल्याएको बजेट पालिकाले खर्च नगरी फिर्ता पठाउने गरेको गुनासो मोदीले गर्ने गरेका थिए । ‘मैले केन्द्रबाट बजेट ल्याउँदा यहाँ (ग्रामथान) फरक पार्टी भएकै कारण पालिकाले खर्च गर्न मानेन,’ हरेक चुनावी अभियानमा उनी भन्थे, ‘हाम्रै पार्टीको मान्छे भए भने बजेट ल्याउन र विकास निर्माणमा खर्च गर्न सजिलो हुन्छ ।’

मोदीकै आग्रहलाई स्वीकार गर्दै मतदाताले पनि उनकै पार्टीका उम्मेदवारलाई रोजेका हुन् । माओवादी केन्द्रीय सदस्य जीवन आचार्य जनताले युवाको टिमलाई पत्याएको बताउँछन् । ‘युवालाई जनताले पत्याएका छन् । युवाको टिमले ग्रामथानमा काम पनि राम्रो गरिरहेको छ,’ उनले भने ।

ग्रामथानमा कांग्रेसले दाबी गर्दै आएको गढ भत्काएका माझी सबैसँग समन्वय गरेर विकास निर्माणको काम अघि बढाउने बताउँछन् । अध्यक्षमा विजयी भएको घोषणापछि उनले पार्टी नहेरी सबैसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।

‘हिजो म पार्टीको नेता थिएँ । आज जनताको भएँ । जनप्रतिनिधि हुँ,’ उनले भने, ‘एमाले, कांग्रेस मतलब छैन । सबै मेरा लागि बराबर हुन् । समन्वय गरेर अघि बढ्छु ।’ पालिकाका अन्य उम्मेदवारसँग राम्रा एजेन्डामा समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका माझीले कसैलाई भेदभाव नगरी सबैलाई समान व्यवहार गर्ने बताए ।

माओवादीको एक्लो प्रयासले मात्रै सम्भव नहुने बताउँदै उनले पालिकाको विकासका लागि सबैसँग समन्वय आवश्यक रहेको उल्लेख गरे । ग्रामथानमा माओवादी सांगठनिक हिसाबले कमजोर रहेको भन्दै माझीले आफ्नो व्यक्तिगत प्रभावसँगै माओवादी पार्टी र मोदीलगायतका नेता एवं आमजनताको सहयोगमा चुनाव जितेको उल्लेख गरे ।

कांग्रेस र एमालेलाई उछिनेर माओवादीको ‘इन्ट्री’
ग्रामथानको अध्यक्षमा कांग्रेस र एमालेले यसअघि १–१ पटक जितिसकेका छन् । २०७९ सालमा कांग्रेस र २०७४ सालमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् ।

कांग्रेसका जयप्रकाश गच्छदार थारु २०७९ मा निर्वाचित भएका थिए । गत असार ३ गते उनको निधन भएपछि रिक्त रहेको अध्यक्ष पदका लागि आइतबार उपनिर्वाचन भएको थियो ।

गच्छदार ७ हजार ६ सय ५ मतसहित अध्यक्ष निर्वाचित हुँदा प्रतिस्पर्धी एमालेका शिवनारायण माझी थारुले ६ हजार ९३ मत ल्याए । तेस्रो भएको माओवादीका विजयकुमार सरदार २ हजार ७ स २७ मतमै सीमित हुन पुगे ।

पालिकाको ७ वटा वडामध्ये एमालेले ४, कांग्रेसले २ र माओवादी केन्द्रले १ वडाध्यक्ष जितेका थिए । सबैभन्दा बढी वडा जितेर पनि २०७९ मा पालिका अध्यक्ष गुमाएको एमाले अहिले तेस्रो स्थानमा पुगेको छ ।

२०७४ सालमा भने एमालेका शिवनारायण माझी थारु ४ हजार ७ सय २० मतसहित विजयी हुँदा प्रतिस्पर्धी तत्कालीन फोरम लोकतान्त्रिकका जयप्रकाश गच्छदार थारु ४ हजार ६ सय ६१ मतमा रोकिएका थिए । तेस्रो भएको कांग्रेसका कृष्णकुमार सरदार थारुले ३ हजार १ सय ४३ मत ल्याउँदा चौथो स्थानमा रहेको माओवादीका रमेशकुमार भगत १ हजार ६ सय २ मतबाट अघि बढ्न सकेनन् ।

माओवादी २०७९ सालमा तेस्रो र २०७४ मा चौथो स्थानमा थियो । तर, पालैपालो पालिकाको नेतृत्वमा पुगेका कांग्रेस र एमालेलाई उछिनेर ग्रामथानमा अहिले माओवादीको ‘इन्ट्री’ भएको हो ।

ग्रामथान माओवादीको जनाधार कमजोर भएको पालिका भनेर चिनिन्थ्यो । तर, अहिले अध्यक्षमा बाजी मारेको छ ।

१३ जना उम्मेदवारको जमानत जफत
उपनिर्वाचनमा ग्रामथानको अध्यक्षका लागि विभिन्न दलका १५ र १ स्वतन्त्रसहित १६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । तर, ३ ठूला दल कांग्रेस, एमाले र माओवादीबाहेकका अन्य १३ जना उम्मेदवारले सदर मतको १० प्रतिशत कटाउन सकेनन् ।

सदर भएको १८ हजार २ सय ७ मतको १० प्रतिशत १ हजार ८ सय २१ हुन्छ । चुनावी प्रतिस्पर्धामा रहेका १३ जनाले १० प्रतिशत मत प्राप्त गर्न नसकेका हुन् । स्थानीय तह निर्वाचन ऐेन २०७९ को दफा ६३ मा कूल सदर मतको १० प्रतिशत नकटाए जमानत जफत हुने व्यवस्था छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दिनेशकुमार थन्दार (दिवेश) (५ सय ५५), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवीनकुमार विश्वास (३ सय ७५), समावेशी समाजवादी पार्टी नेपालका बोधनारायण माझी (२ सय ३३), नेकपा (एकीकृत समाजवादी) पार्टीका दिलबहादुर विश्वकर्मा (१ सय ४४), स्वतन्त्र उम्मेदवार नमनारायण चौधरी (१ सय ३०), नागरिक उन्मुक्ति पार्टीका बुद्धिचन विश्वास ( ८९) र उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका सुरेशकुमार राजवंशी (४७) छन् ।

त्यस्तै, मंगोल नेशनल अर्गनाइजेसनका भरत राई (४५), जनमत पार्टीका विनोदकुमार माझी (४२), कमल थापा नेतृत्वको राप्रपा नेपालका राजु मुसहर (२७), नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का पर्शुराम विश्वास थारु (२६), अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का धर्मेन्द्रकुमार चौधरी (१८) र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका रामकुमार चौधरी (१५)को जमानत जफत भएको छ ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.