
विराटनगर । नेपाली कांग्रेस संस्थापन पक्ष र डा. शेखर कोइराला पक्षबीच विवाद बढेको छ ।
नेपाली कांग्रेसका नेता डा.कोइराला प्रमुख अतिथि रहने कोशी प्रदेशका १ सय ३७ पालिका सभापतिहरुको भेला कार्यक्रम पार्टी केन्द्रको जानकारीमा नरहेको भन्दै सहभागी नहुन केन्द्रले निर्देशन दिएसँगै गुटको विवाद बाहिरिएको हो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज (सोमबार)कोशी प्रदेशका सभापतिलगायत प्रदेशभरका सबै जिल्ला सभापतिहरुलाई मंसिर २२ गते हुने सम्मेलन पूर्व प्रदेशस्तरीय पार्टीको कुनै पनि कार्यक्रम नरहेको जानकारी गराउँदै पत्र पठाएका छन् ।
विधानमाथि छलफल गर्न र कार्यकताबीचमा हार्दिकताको भावनालाई दरिलो बनाउन भन्दै आयोजना गर्न लागेको कार्यक्रममा सहभागी नहुन पौडेलले कोशी प्रदेशका सभापतिहरुलाई पत्र पठाउँदै प्रदेशअन्तर्गत रहेका सबै पालिकाहरुलाई जानकारी गराउन निर्देशन दिएको छ ।
कार्यक्रमको सम्पूर्ण तयारी सकिएको र प्रमुख अतिथि डा. शेखर कोइरालासमेत विराटनगर आइसकेको अवस्थामा केन्द्रको निर्देशनपत्र सार्वजनिक भएसँगै कांग्रेस कोशी प्रदेशको विवाद सतहमा आएको हो ।
भोलि (मंगलबार) विराटनगरस्थित जैन भवनमा आयोजना हुने कार्यक्रममा सहभागी हुन विभिन्न जिल्लाबाट आउने क्रम जारी रहेकोमा केन्द्रको पत्रले कार्यकर्तामा अन्यौल बढाइ दिएको छ ।
कोशी प्रदेश समितिले मंसिर २२ गते जिराटनगरमा नै प्रथम प्रदेश सम्मेलन आयोजना गर्ने कार्यक्रम रहेको छ । सोही कार्यक्रमलाई लक्षित गर्दे डा. कोइराला पक्षधरले २२ गतेअघि नै सोही प्रकृतिको कार्यक्रम सार्वजनिक गरेपछि केन्द्रले हस्तक्षेप गर्नुपरेको बुझिएको छ ।
डा. कोइराला पक्षधरले आयोजना गर्न लागेको कार्यक्रमका संयोजकसमेत रहेका कांग्रेस विराटनगर महानगर सभापति दीपक चापागाईंले भने कार्यक्रम कुनै सर्तमा नरोकिने र कार्यक्रमको प्रमुख अतिथि डा. शेखर कोइराला नै रहने बताए ।
केन्द्रीय कार्यालयले जारी गरेको पत्रमा मंसिर २२ गते पूर्व कुनै पनि निर्धारित कार्यक्रम नरहेको जनाउँदै पार्टीको जुन तहको कार्य समिति हो, त्यसले त्यही तहभित्रकै कार्यक्रम आयोजना, समन्व्य र नेतृत्व गर्ने वैधानिक व्यवस्था रहेको भन्दै सहभागी नहुन निर्देशन दिएको छ ।
कोशी प्रदेश समितिका प्रवक्ता वासु कोइरालाले केन्द्रले निर्देश गरिसकेपछि कार्यक्रम आयोजना गर्न नहुने बताए । उनले कांग्रेसकाे कार्यक्रम नै छैन भनेर केन्द्रले स्पष्ट निर्देश गरिसकेपछि फेरि कुन कांग्रेसले कार्यक्रम आयोजन गर्ने ?

























