
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पालिका सभापतिहरुको संरक्षण आफूले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कोइराला पक्षले विराटनगरमा आज (मंगलबार) आयोजना गरेको पालिका सभापतिहरूको सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले सभापतिहरुको संरक्षण आफूले गर्ने बताए । कोइराला पक्षले विराटनगरमा भेला राखेपछि पार्टी केन्द्रले भने आधिकारिक कार्यक्रम नभएको भनि पत्राचार गरेको थियो ।
केन्द्रले मंसिर २२ गते कोशीको प्रदेश सम्मेलनअघि पार्टीको औपचारिक कार्यक्रम नभएको सूचना कोशीका पालिका सभापतिलाई हिजो जारी गरेको थियो । यद्यपि, कोइराला पक्षले भेला राखेको छ ।
केन्द्रको निर्देशनविपरीत कांग्रेसको संस्थापनइतर अर्थात डा. कोइराला पक्षधरले भेला राखेपछि कांग्रेसको विवाद छताछुल्ल भएको छ । पार्टी केन्द्रले औपचारिक रुपमा जानकारी गराएपछि शेखर पक्षले बोलाएको भेलामा उपस्थित हुने नहुनेमा पालिका सभापतिहरू अन्योलमा परेका थिए ।
कोशीका १३७ पालिकाबाट ११३ पालिका सभापति भेलामा सहभागी भएको दाबी शेखर पक्षको छ । ‘कुनै किसिमको डर, धाक, धम्कीबाट आत्तिनुभएन । तपाईंहरू निस्फिक्री भएर घर जानुस् । तपाईंहरूको संरक्षण म गर्छु,’ कोइरालाले भने ।

























