ग्रामथानमा ‘ओरालो लाग्यो’ एमाले

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २०, बिहीबार ०७:०४

विराटनगर । सत्तारुढ नेकपा (एमाले)ले मोरङको ग्रामथान गाउँपालिकामा नसोचेको झड्का बेहोर्न पुग्यो ।

एमालेको सत्ता सहयात्री नेपाली कांग्रेसले त झन् अढाई वर्षअघि जितेको अध्यक्ष पदसमेत जोगाउन सकेन । सत्तारुढ दुवै दलले प्रतिस्पर्धी नठानेको दल नेकपा (माओवादी केन्द्र)ले उपनिर्वाचनमार्फत अध्यक्ष जित्यो ।

Advertisement

गाउँपालिकाको नेतृत्वमा पुगेका माओवादीका नमोनारायण माझीले बुधबार शपथसँगै जिम्मेवारी सम्हालिसकेका छन् । उनले गाउँपालिकाभित्र एम्बुलेन्स सेवालाई निःशुल्क बनाउने पहिलो निर्णय गरे ।

तर, सत्तारुढ दुवै दलका लागि उपचुनावको नतिजा बिर्सनलायक रहयो । नतिजाले नै २०७४ सालयता नेकपा (एमाले) निरन्तर ओरालो लागिरहेको देखाउँछ ।

मुलुक संघीयतामा गएपछि २०७४ सालमा स्थानीय तहको पहिलो निर्वाचन हुँदा एमालेले ग्रामथानको अध्यक्ष जितेको थियो । शिवनारायण माझी थारु अध्यक्षमा निर्वाचित भएका थिए । २०७९ को दोस्रो निर्वाचनमा पनि अध्यक्ष उठेका उनी उपविजेता बने ।

हालसम्म आइपुग्दा ग्रामथानमा एमालेको राजनीति ओरालो लागेर निक्कै तल झरिसकेको छ । नेताहरुको टकराव गाउँसम्मै पुग्दा र उनीहरुमा गलत प्रवृत्ति हाबी हुँदा पार्टीले जनविश्वास गुमाउँदै गएको छ ।

नेताहरुको बेमेलको बाछिटाले कार्यकर्तासम्मलाई भेटेपछि एमालेले पालिका प्रमुख जित्न त धेरै परको कुरा । विजयी हुनेसँग प्रतिस्पर्धामा पनि आउन सकेन । चु्नावी मैदानमा उत्रिएका एमाले उम्मेदवार तुलसीप्रसाद विश्वासले तेस्रो बनेर चित्त बुझाउनु पर्यो ।

एमालेको जनमत कमजोर हुँदै गएको पुष्टि २०७४ र २०७९ मा भएको स्थानीय तहको निर्वाचन तथा यही मंसिर १६ गते सम्पन्न उपचुनावको नतिजाले गर्छ । एमालेले २०७४ सालको जति मतसमेत उपनिर्वाचनमा पाउन सकेन ।

प्राप्त मतलाई एमालेप्रति जनमानसमा बढ्दो वितृष्णाका रूपमा बुझ्न सकिन्छ । नेताहरुको व्यक्तिगत ‘इगो’ले ग्रामथानमा पार्टी धराशायी बन्दै गएको यकिन हुन्छ ।

उपनिर्वाचनमा एमालेका उम्मेदवार विश्वासले ४ हजार १ सय ५९ मत पाए । २०७४ सालमा माझीले ४ हजार ७ सय २० मत ल्याएका थिए । साढे ७ वर्षपछि एमाले उम्मेदवारलाई ५ सय ६१ कम मत प्राप्त भएको छ ।

पहिलो निर्वाचनमा माझी विजयी हुँदा तत्कालीन फोरम लोकतान्त्रिकका उम्मेदवार जयप्रकाश गच्छदार थारुले ४ हजार ६ सय ६१ मत ल्याएका थिए । दुईबीचको मतान्तर जम्मा ५९ मात्रै थियो ।

लोकतान्त्रिक र कांग्रेसबीच एकीकरण भएपछि २०७९ सालमा गच्छदार कांग्रेसबाट उम्मेदवार बने । फराकिलो मतसहित विजयी भए । उनले ७ हजार ६ सय ५ मत ल्याउँदा माझी ६ हजार ९३ मा खुम्चिए ।

एमालेले २०७९ र उपनिर्वाचनमा प्राप्त गरेको मतको अन्तरसमेत निक्कै छ । उपनिर्वाचनमा १ हजार ९ सय ४४ कम मत एमालेलाई आएको छ ।

प्रत्येक निर्वाचनमा मतदाताको संख्या भने बढेको छ । तर, एमालेले पाउने मत भने आश्चर्यजनक हिसाबले घट्दै गएको छ । अर्थात, एमाले ग्रामथानका मतदाताबाट अस्वीकृत भएको छ ।

पछिल्लो अढाई वर्षको अवधिलाई हेर्दा कांग्रेसको राजनीति पनि ओरोलो लागेको देखिन्छ । उपनिर्वाचनमा उसले २०७९ को मत पनि जोगाउन सकेन । अनेक अराजनीतिक हर्कतमा रुमलिँदै गएका नेताका कारण कांग्रेसले मतदाताबाट नमिठो जवाफ पाएको छ ।

उपचुनावमा कांग्रेसका उम्मेदवार बलराम सरदार थारुलाई ५ हजार ३ सय ३३ मत प्राप्त भयो । कांग्रेसले २०७९ को भन्दा यही मंसिर १६ गते पाएको मत निक्कै कम छ । २ हजार २ सय मतको फरक रहेको हो । संस्थापनइतर अर्थात डा. शेखर कोइराला पक्षधर सरदारलाई पार्टीकै संस्थापन अर्थात शेरबहादुर देउवा पक्षले सहयोग नगरेको चर्चा छ ।

जयप्रकाश गच्छदार थारुको गत असार ३ गते निधन भएपछि रिक्त रहेको अध्यक्ष पदका लागि उपनिर्वाचन भएको हो । दलका १५ र स्वतन्त्र १ सहित १६ जना उम्मेदवार थिए ।

उपनिर्वाचनबाट सत्तारुढ दलका लागि निराशाजनक नतिजा प्राप्त भएको छ । त्यसो त माओवादी, कांग्रेस र एमालेबाहेकका उम्मेदवारको जमानत नै जफत भएको छ ।

उपनिर्वाचन अघिसम्म ग्रामथानको सत्तामा रहेको एमालेका उम्मेदवारलाई जिताउन पार्टीको कोशी प्रदेश इञ्चार्ज एवं पूर्वमुख्यमन्त्री शेरधन राई, प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मोरङ इञ्चार्ज जीवन घिमिरे, मोरङका पूर्वअध्यक्ष विनोद ढकाल, विराटनगर महानगर इञ्चार्ज पर्शुराम बस्नेतलगायतका नेता खटिएका थिए ।

जो आफैं २०७९ को प्रतिनिधि एवं प्रदेशसभा निर्वाचनमा पराजय बेहोरेकाहरु हुन् । अढाई वर्षअघि आफैं जनताबाट अनुमोदित हुन नसकेका उनीहरु ग्रामथानमा अहोरात्र खटिए । तर, नतिजा अनपेक्षित आयो ।

राई (भोजपुर), ढकाल (मोरङ–४) र खतिवडा (मोरङ–१)बाट प्रतिनिधिसभाको निर्वाचनमा पराजित हुँदा घिमिरे र बस्नेतले मोरङकै अलगअलग निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्यमा हार बेहोर्न पुगेका थिए । ग्रामथान मोरङको निर्वाचन क्षेत्र नम्बर ४ मै पर्छ ।

एक नेताका अनुसार ग्रामथानमा निर्वाचित जनप्रतिनिधिको भावना एमालेबाट अरु नै उम्मेदवार होउन् भन्ने थियो । तर, केन्द्रीय सदस्य जीवन घिमिरे र मोरङ अध्यक्ष बाबुराम कार्कीको जोडबलमा विश्वासले टिकट पाए ।

त्यसपछि असन्तुष्ट बनेका नमनारायण चौधरीले बागी उम्मेदवारी दिए । गाउँपालिकाभित्रकै निर्वाचित जनप्रतिनिधिले ‘असहयोग’ गरे । अर्कोतर्फ एमालेबाट उपाध्यक्ष विजयी भएकी गुणावतीदेवी थारुले गच्छदार अचेत भएपछि आधा वर्षभन्दा बढी कार्यवाहक अध्यक्षको जिम्मेवारी पाइन् ।

उनको कार्यशैलीप्रति ग्रामथानका बासिन्दा ‘अति असन्तुष्ट’ रहेको चर्चा छ । ग्रामथानमा एमालेको राजनीति ओरालो लाग्नुमा निर्वाचित जनप्रतिनिधिको गलत व्यवहार र कार्यशैली नै प्रमुख कारण रहेको एक नेता बताउँछन् ।

एमाले मोरङका अध्यक्ष बाबुराम कार्की स्थानीय जनताको मनोभावना बुझ्न नसक्दा उपचुनावमा पराजित हुनु परेको बताउँछन् । स्थानीय भावना नबुझेका कारण मत घटेको उनको बुझाइ छ ।

‘पार्टीले समीक्षा त गरिसकेको छैन । तर, स्थानीयको भावना नबुझ्दा नतिजा फरक आयो,’ उनले भने, ‘थारु ‘कम्युनिटी’को कल्चर बुझ्न सकिएन् ।’ चुनाव अभियानमा स्थानीयभन्दा धेरै बाहिरका सहभागी भएका करण नतिजा फरक आएको कार्कीको दाबी छ ।

यता, भर्खरै अध्यक्ष जितेको माओवादी केन्द्रले भने आफ्नो अवस्था सुधार गर्दै लगेको छ । २०७४ मा माओवादीका उम्मेदवार रमेशकुमार भगत १ हजार ६ सय २ मत प्राप्त गर्दै चौथो भएका थिए ।

२०७९ सालमा विजयकुमार सरदार २ हजार ७ सय २७ मत ल्याएर तेस्रो भए । ५ वर्षको अवधिमा माओवादीको मत पनि बढेको देखिन्छ ।

उपनिर्वाचनसम्म आइपुग्दा माओवादीले दोस्रो भइरहन परेन । मतदाताले ६ हजार ९ सय ६९ मतसहित नमोनारायण माझीलाई जिताइदिए ।

माओवादी नेता अमनलाल मोदी माझीलाई जिताउन अहोरात्र खटिएका थिए । मोदी २०७४ र २०७९ सालमा मोरङ–४ बाटै प्रतिनिसभा सदस्य निर्वाचित भएका हुन् । यद्यपि, माओवादीले २०७४ मा एमाले र २०७९ मा कांग्रेससँग गठबन्धन गरेको थियो ।

यस्तो छ उपनिर्वाचनको नतिजा ।

यस्तो छ २०७९ सालको चुनावी नतिजा ।

यस्तो छ २०७४ सालको चुनावी नतिजा ।

तपाइको प्रतिक्रिया
एमाले महाधिवेशन : पदाधिकारीमा विराटनगरबाट काे–काे छन् उम्मेदवार ?
एमाले महाधिवेशन : विराटनगरबाट ६ जना केन्द्रीय सदस्यकाे उम्मेदवार
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान
पश्चिमी वायुकाे प्रभाव, कस्ताे छ आजकाे माैसम ?
बढेकाे बढ्यै डलरकाे भाउ, यस्ताे छ अन्य मुद्राकाे विनिमयदर
पेट्राेलकाे मूल्य बढ्दा डिजेलकाे घट्याे
सरकारी कार्यालय आगजनीका आरोपी छुट्दा विराटनगरमा फूलमाला र नाराबाजी, पूर्वमन्त्रीको जिम्मामा रिहा
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
महाधिवेशनमा चार नेताले छाडे केपी शर्मा ओलीको साथ, प्रदीप ज्ञवाली पनि रुष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.