
विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश प्रचार विभागले अग्रजहरुको अभिलेखीकरण गर्ने भएको छ ।
पार्टीमा लामो समय जीवन व्यतीत गरे पनि कुनै अवसर नपाएकाहरुको विषयमा पुस्तक प्रकाशन गरिने पार्टीले जनाएको छ । एमाले कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागको बिहीबार विराटनगरमा बसेको बैठकले कोशी प्रदेशका १४ वटै जिल्लाका अग्रजहरुका विषयमा पुस्तक प्रकाशनका लागि जिम्मेवारी प्रदान गरेको छ ।
कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागका प्रमुख लक्ष्मण तिवारीले पुस्तकसँगै भिडियो सामग्री पनि तयार गरिने बताए । ‘लामो समयदेखि पार्टीमा आवद्ध भएको तर, हालसम्म कुनैपनि अवसर नपाएका अग्रज व्यक्तिहरुका विषयमा पुस्तक तयार गरिने छ,’ उनले भने ।
तिवारीका अनुसार एउटा जिल्लाबाट कम्तिमा ३÷३ जना छनोट गरिने छ । व्यक्ति छनोट पार्टी जिल्ला कमिटीसँग बसेर तय गरिने उनको भनाइ छ ।
प्रदेश प्रचार तथा प्रकाशन विभागले एमाले कोशीको मुखपत्रका रुपमा ‘रातो झण्डा’ प्रकाशन गर्ने निर्णय गरेको छ । मुखपत्र प्रकाशनका लागि पनि जिम्मेवारी प्रदान गरिएको जानकारी तिवारीले दिए ।
एमाले प्रचार विभागले कोशी प्रदेशका सञ्चार संस्थाहरुको अवस्थाका बारेमा अध्ययनसमेत गर्ने भएको छ । प्रदेश प्रचार तथा प्रकाशन विभागको बैठकमा एमाले स्थायी कमिटी सदस्य, कोशी प्रदेश इन्चार्ज एवं पूर्वमुख्यमन्त्री शेरधन राई, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, सचिव राजकुमार भण्डारी, केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सदस्य लीलाराज भट्टराईलगायतको सहभागिता रहेको थियो ।
प्रचार विभाग बैठकमा वार्षिक कार्ययोजना, नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलगायतका विषयमा छलफल गरिएको थियो ।

























