तस्बिर स्रोत : मोदराज घिमिरेको फेसबुकबाट ।विराटनगर । नेपाली कांग्रेसको इतर पक्ष अर्थात डा. शेखर कोइराला पक्षले आयोजना गरेको ‘गुट’ भेलाको समापनमा मदिरा (रक्सी) पाटी चलेको पाइएको छ ।
कांग्रेसको कोइराला पक्षले प्रदेशस्तरीय पालिका सभापतिहरुको भेलामा आयोजना गरेको थियो । मदिरा पाटी गर्दै भेलाको समापन गरिएको नेताहरुले बताएका छन् ।
भेला मंगलबार विराटनगरमा आयोजना गरिएको थियो । भेलाको बन्दसत्र भने बेलबारीको ड्रीम ल्याण्ड पार्कमा भएको थियो । बन्दसत्रपछि मध्यरातसम्म मदिरा पाटी चलेको एक नेताले बताए ।
उक्त मदिरा पाटीको फोटो कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले सार्वजनिक गरेका थिए । सामाजिक सञ्जाल फेसबुकमा घिमिरेले मदिरा पाटी चलिरहेको फोटो सार्वजनिक गरेपनि धेरै समय राखेनन् । फोटो हालेको केही समयपछि उनले हटाएका थिए । फेसबुक स्ट्याटसमा चैं घिमिरेले कोइरालालगायतका नेताले बन्दसत्रमा मन्तव्य दिएको विषय राखेका छन् ।
घिमिरेले कार्यक्रम सकिएपछि सामान्य खानपिन भएको बताए । ‘भुलवस फोटो सामाजिक सञ्जालमा ‘अपलोड’ भएपछि हटाएको उनको भनाइ छ । ‘कार्यक्रम सकिएपछिको फोटो हो । कार्यक्रम चलेका बेला मदिरा पाटी भएको हैन । भुलवस फोटो पोस्ट भएछ । त्यो मैले ‘डिलिट’ गरिसकें,’ घिमिरले भने ।
सभापति भेलाको बन्द सत्रमा कांग्रेस नेता डाक्टर शेखर कोइराला, मोरङ क्षेत्र नम्बर ३ का सांसद तथा मेडिकल व्यवसायी डाक्टर सुनील शर्मा, मोरङ क्षेत्र नम्बर १ का सांसद डिगबहादुर लिम्बू, डाक्टर मिनेन्द्र रिजाल, गुरुराज घिमिरेलगायतका नेताहरु सहभागी थिए ।
प्रदेशस्तरीय सभापति भेलामा ५०–५५ जना सभापति सहभागी भएको संस्थापन अर्थात पार्टी सभापति शेरबहादुर देउवा पक्षको दाबी छ । तर, मोरङ सचिव घिमिरेले भने ९० जना भन्दा बढी पालिका सभापतिहरु बन्दसत्रमा सहभागी भएको दाबी गरे ।
पार्टी केन्द्रीय समितिको सर्कुलरविपरीत कोइराला पक्षले मंगलबार विराटनगरमा भेला आयोजना गरेको थियो । भेलामा आएका कार्यकर्तालाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘कुनै किसिमको डर, धाक, धम्कीबाट तपाईंहरु आत्तिनुभएन । तपाईंहरू निस्फिक्री भएर घर जानुस् । तपाईंहरूको संरक्षण म गर्छु ।’
पार्टी प्रदेश समितिले मंसिर २२ गते प्रदेश सम्मेलन आयोजना गर्दैछ । त्यसको ४ दिनअघि कोइराला पक्षले पालिका सभापतिको भेला आयोजना गरेको हो ।























