
विराटनगर । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला पार्टीको पहिलो कोशी प्रदेश सम्मेलनमा सहभागी नहुने भएका छन् । गृहनगर विराटनगरमा हुने सम्मेलनमा दोस्रो वरीयता नपाउने भएपछि कोइराला सहभागी नहुने भएका हुन् ।
प्रदेश समितिको पहिलो सम्मेलन शनिबार बिहान ११ बजे उद्घाटन हुँदैछ । यो कार्यक्रममा कोइरालालाई पनि निम्तो गरिएको छ । तर, कोइराला चितवनतिर लागेका छन् । सम्मेलनका लागि सभापति शेरबहादुर देउवासहित केन्द्रीय नेताहरु विराटनगर आइसकेका छन् ।
डाक्टर कोइरालाका निजीसचिव दिनेशचन्द्र थपलियाका अनुसार शनिबार उनी चितवनमा आयोजित दुई शोकसभामा सहभागी हुनेछन् ।
कोइरालाले गृहनगर विराटनगरमा हुने प्रदेश सम्मेलनमा सभापतिपछिको ुपोर्टफोलियोुमा आफूलाई आशनग्रहण गराउनुपर्ने प्रस्ताव गरेका थिए । तर, प्रदेश समितिले केन्द्रीय समितिको रोलक्रम अनुसार आशनग्रहण गराउने भनेपछि कोइरालाले बहिस्कार गरेका हुन् ।
‘उहाँले शुक्रबार बिहानसम्म दोस्रो ‘पोर्टफोलियो’ हुन्छ भने आउँछु भन्नु भएको थियो । तर, केन्द्रीय समितिको रोलक्रम अनुसार हुने भनेपछि चितवन जानुभएछ,’ कांग्रेस संस्थापन पक्षका एक नेताले भने, ‘नआउने जानकारी पठाइसक्नु भएको छ ।’
पार्टी सभापति शेरबहादुर देउवापछिको वरीयतामा उपसभापति पूर्णबहादुर खड्का छन् । १४ औं महाधिवेशनमा सभापतिमा पराजित कोइरालाले खड्काभन्दा माथि आफ्नो वरीयता हुनुपर्ने बताउँदै आएका छन् ।
नेपाली कांग्रेस कोशी प्रदेश महामन्त्री भूपेन्द्र राई प्रदेश समितिले केन्द्रीय नेताहरुलाई उपस्थितिका लागि निम्तो पठाएको बताउँछन् । डाक्टर शेखर कोइरालालाई समेत निम्तो पठाएको उनले बताए ।
‘‘प्रदेश सम्मेलनमा सबै नेतालाई बोलाएका छौं । को आउने, को नआउने भोलि मात्रै थाहा हुन्छ,’ उनले भने, ‘पार्टीको केन्द्रीय समितिले ‘पोर्टफोलियो’ व्यवस्थापन गरेको छ । त्यसलाई प्रदेश समितिले स्वीकार गर्ने हो ।’
कोइरालाले प्रदेश सम्मेलनअघि मंसिर १८ गते विराटनगरमा प्रदेशस्तरीय पालिका सभापतिको सम्मेलन नाम दिएर ‘गुट भेला’को आयोजना गरेका थिए । सम्मेलन १९ गते बेलबारीमा सम्पन्न भयो । यो भेला रोक्नका लागि संस्थापन पक्षले प्रयास गरेपनि सकेन ।
कोशी प्रदेश समितिमा संस्थापन पक्षको बहुमत छ । संस्थापन पक्षले उपसभापति पूर्णबहादुर खड्कालाई बोलाएको छ । उनी विराटनगर आइसकेका छन् ।
डाक्टर कोइराला पक्षका सभापति भएको लुम्बिनी प्रदेशको सम्मेलनमा भने उनी दोस्रो वरीयतामा थिए । २०८० मंसिर १६ र १७ गते भएको उक्त सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्का उपस्थित थिएनन् ।

























