बालविकास सम्बन्धी दुई दिने सम्मेलन विराटनगरमा सुरु

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २१, शुक्रबार २०:३८

विराटनगर । नेपालमा प्रारम्भिक बालविकास इकोसिस्टमको परिकल्पना विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन विराटनगरमा सुरु भएको छ । यो सम्मेलन भोलि शनिबार समापन हुनेछ ।

पूर्वाञ्चल विश्वविद्यालय कला संकायले आयोजना गरेको सम्मेलनमा साढे तीन दर्जन बढी अनुसन्धानात्मक लेख प्रस्तुत हुनेछन् ।

उद्घाटन सत्रमा मुख्यवक्ताको रुपमा प्राध्यापक करेन ग्राहम, चिरश्री घोष, डाक्टर मिनाक्षी दाहाल, डाक्टर अरुण उप्रेतीले प्रारम्भिक बालविकास र यसको इकोसिस्टमका विषयमा मन्तव्य राखेका थिए ।

विभिन्न चार वटा सत्रमा प्रारम्भिक बालविकास इकोसिस्टमको विषयमा अनुसन्धानात्मक लेखहरूको प्रस्तुती र छलफल भएका छन् ।

सम्मेलनको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सम्मेलन महत्पूर्ण भएको भन्दै सम्मेलनमा निस्केका निस्कर्षहरूले प्रदेश सरकारले बनाउने नीति तथा कार्यक्रमका लागि सहयोगी हुने बताए ।

डाक्टर अरुण उप्रेतीले प्रशोधित प्याक गरेको खानेकुराले बालवालिकाको मानसिक र शारीरिक स्वास्थ्यमा गम्भिर असर गर्ने बताइन् । सामुदायिक विद्यालयमा सञ्चालनमा रहेको दिवा खाजा कार्यक्रमले एउटा विद्यार्थीलाई दिने १५ रूपैयाँको खाजामा आवश्यक पोषक तत्व नपाइने भन्दै त्यसमा पुनर्विचार गर्न उनले बताइन् ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर विजुकुमार थपलियाले सम्मेलनको आवश्यकता र महत्वका विषयमा प्रकाश पार्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।

शनिबारको सत्रमा किर्सटेन हुगेन, प्राध्यापक लोरेन वेब्राइटले मुख्य वक्ताको रुपमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, मालदिभ्स, अमेरिका, बेलायतलगायतका तीन सय भन्दा बढीको सहभागी छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.