
काठमाडौं । नेपाल नर्सिङ संघको नेतृत्वका लागि भएको निर्वाचनमा चन्द्रकला शर्मा नेतृत्वको प्यानल नै विजयी भएको छ ।
२०औँ केन्द्रीय कार्यसमितिका लागि भएकाे निर्वाचनबाट प्राध्यापक शर्मा नेतृत्वको प्यानल नै बिजयी भएको हो । उनी नेकपा एमाले र नेकपा माओवादी निकट नर्सहरूले संयुक्त प्रगतिशील प्यानलकी उम्मेदवार हुन् । नेपाली कांग्रेस र एकीकृत समाजवादी निकटहरू संयुक्त पेसागत प्यानल बनाएर गंगाकुमारी थापाको नेतृत्वमा चुनावी मैदानमा गएका थिए ।
अध्यक्ष पदमा शर्माले २१५० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी बनेकी थापाले १ हजार ३७० मत मात्रै प्राप्त गरिन् । अध्यक्ष पदको अर्को उम्मेद्धार वसन्ती थापाले २८२ मत प्राप्त गरिन् ।
संघको वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा विजयी भएका छन् । सुब्बाले २ हजार ६० मत पाउँदा उनका निकटतम प्रतिद्वन्दी कल्पना श्रेष्ठ जोशीले १ हजार ५९७ मत प्राप्त गरिन् ।
उपाध्यक्षमा बबिता घिमिरे २ हजार ११ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी मनिसा कोइरालाले भने १ हजार ५७० मत पाइन् ।
संघको महासचिवमा डाक्टर देवका कुमारी आचार्य १ हजार ७३३ मत सहित निर्वाचित भएकी छिन् । उनका प्रतिस्पर्धीहरू मिना कुमारी कार्कीले १ हजार ३४७ मत र जानकी धामीले ६२२ मत पाइन् ।
सचिवमा वेली पौडेल २ हजार ९० मतसहित बिजयी भइन् । निकटतम प्रतिद्वन्दी जया मिश्रले १ हजार ५७३ मत मात्र ल्याइन् ।
संघको कोषाध्यक्षमा तुलसादेवी अधिकरीले २ हजार १८८ मतसहित निर्वाचित भएकी छिन् । उनका प्रतिस्पर्धी रमादेवी पहारी (ज्ञवाली)ले १ हजार ४८२ मत मात्र पाइन् ।

























