
विराटनगर । मोरङ क्षेत्र नम्बर ६ का संघीय सांसद डाक्टर शेखर कोइरालाले विराटनगरमा निर्माणाधीन वृहत्तर खानेपानी परियोजनाको अनुगमन गरेका छन् ।
खानेपानी परियोजनाको निर्माण कार्यप्रति चासो राख्दै कोइरालाले महानगर क्षेत्रभित्र विभिन्न स्थानमा पुगेर अनुगमन गरेका हुन् ।
विराटनगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ विराटनगर महानगरपालिकाको पहलमा खानेपानी परियोजना सञ्चालन भइरहेको छ ।
जापान सरकार (जाइका)को अनुदान सहयोगमा सञ्चालित परियोजना निर्माण कार्य तीव्र रुपमा भइरहेको हो ।
हाल विराटनगर–८ स्थित हाम्रो चोक पूर्व, रोडरोष चोकदेखि ट्राफिक चोक, नयाँ गुद्रीदेखि पिचरास्थित चिउरामिल चोक, हाटखोला चोकदेखि देवकोटा चोकसम्म पाइपलाइन विस्तार गर्ने कार्य भइरहेको छ ।
कोइरालाले विराटनगर–५ स्थित कलरुवामा निर्माण भइरहेको ओभरहेड ट्यांकीको अनुगमन गरे । सो स्थानमा १२ लाख लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण भइरहेको छ ।
कोइरालाले निर्माणका क्रममा कुनै समस्या आइपरे जनप्रतिनिधिको नाताले आफूले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले खानेपानीको पाइप पुरानो जीर्ण हुँदा विराटनगरवासीलाई खानेपानी वितरणमा समस्या देखिएको बताए ।
अशुद्ध खानेपानीकै कारण विगतमा विराटनगरमा जन्डिसजस्ता रोगको संक्रमण फैलिएको स्मरण गर्दै कोइरालाले अहिले सञ्चालन भइरहेको खानेपानी परियोजना निर्माण सम्पन्नपछि विराटनगरवासीले शुद्ध खानेपानी प्रयोग गर्न पाउने विश्वास व्यक्त गरे । परियोजनाको काम सन्तोषजनक रुपमा भइरहेको आफूले पाएको उनको प्रतिक्रिया थियो ।
कलरुवा टोलमा ओभरहेड ट्यांकीका लागि जग खन्ने काम भइरहेको छ । कलरुवामा १२ लाख लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण हुनेछ ।
त्यस्तै, सोही स्थानमा साढे ४ लाख लिटर क्षमताको अण्डरग्राउण्ड रिजरभाएर ट्यांकी (पानी स्टोर गर्ने ट्यांकी) निर्माण हुनेछ ।
डिपीएस स्कुलदेखि पूर्वतर्फ पाइप क्रसिङका लागि ब्रिजको काम भइरहेको छ । खानेपानी संस्था विराटनगरका प्रमुख सन्तोष रौनियारका अनुसार तीनपैनी, देवकोटा चोक र मुनालपथमा १२–१२ लाख लिटर क्षमताको पानी स्टोर गर्ने ट्यांकी निर्माण गरिनेछ ।
तीनपैनीमा हाल ४ लाख ५० लाख लिटर ओभरहेड ट्यांकी छ । परियोजनाबाट विराटनगर–१ देखि १४ का बासिन्दा लाभान्वित हुनेछन् । ६८ किलोमिटर पाइप बिछ्याइने रौनियारको भनाइ छ ।
तोकिएको समयभन्दा अगाडि काम सम्पन्न गर्ने लक्ष्यका साथ तीव्र गतिमा निर्माण कार्य भइरहेको उनले सुनाए ।
हाल ४ किलोमिटर पाइपलाइन बिछ्याइसकिएको रौनियारले बताए ।
हाल निर्माणको करिब ९ प्रतिशत काम सकिएको छ । आवतजावत र बजारको व्यापार व्यवसायमा कुनै असर नपर्ने गरी पाइपलाइन विस्तारको काम भइरहेको रौनियारको भनाइ छ ।
उनका अनुसार सो परियोजना करिब २ अर्ब रुपैयाँको लागतमा निर्माण हुँदैछ । परियोजनाको औपचारिक काम सुरु हुनुभन्दा अगाडि विभिन्न वडामा परीक्षणका रुपमा पाइपलाइन बिछ्याइएको थियो । परीक्षण पूरा भएपछि औपचारिक रुपमा पाइप बिछ्याउन सुरु गरिएको हो ।
विराटनगर महानगरका मेयर नागेश कोइरालाले विराटनगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता आफ्नै कार्यकालमा पूरा गर्ने प्रतिबद्धता जनाए ।
आफूले चुनावी घोषणापत्रमा विराटनगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता जनाएको स्मरण गर्दै मेयर कोइरालाले तोकिएको समयभित्रै काम सम्पन्न गराउन महानगरका तर्फबाट निर्माण पक्षलाई सहयोग गरिरहेको बताए ।
समस्या देखिएका स्थानमा महानगरले नै समन्वय गरेर समाधान गरिरहेको मेयर कोइरालाको भनाइ थियो । ‘दुई वर्षभित्र सबै काम सम्पन्न गरी महानगरवासीको घरको धारामा पानी झनुपर्छ,’ उनले थपे, ‘त्यसका लागि महानगरले कहाँ के कस्तो भूमिका निर्वाह गर्नुपर्छ महानगर तयार छ ।’
खानेपानी आयोजना सन् २०२६ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निर्माण सम्पन्नपछि १ लाखभन्दा बढी लाभान्वित हुनेछन् ।























