
विराटनगर । मोरङको रंगेली नगरपालिका क्षेत्रको अलग अलग स्थानबाट आज (सोमबार)लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रंगेली–५ का २७ वर्षीय धिरजकुमार झालाई लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
उनका अनुसार रंगेली–५ को भित्री सडक खण्डमा को ७ प ६६४६ नम्बरको मोटरसाइकलमा जाँदै गरेका झालाई शंका लागी चेक गर्ने क्रममा ब्राउन सगुर फेला परेको हो ।
विशेष सूचनाको आधारमा लागुऔषध ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रंगेलीको संयुक्त टोलीले झाले लगाएको पाइन्टको गोजीमा प्लाष्टिकभित्र डल्लो बनाएको ११ ग्राम १ सय ४० मिलिग्राम ब्राउन सगुर बरामद गरेको छ ।
झालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रंगेलीले थप अनुसन्धान थालेको छ ।
त्यस्तै, रंगेली–७ शुक्रबारे आदर्श टोलस्थित इशान्त फार्मेसीमा लागुऔषध बिक्रीवितरण भइरहको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले पसल खानतलासी गर्दा लागुऔषध ट्रामाडोल ५ हजार ३ सय थान क्यापसुल, स्पासपेन २ हजार थान ट्याब्लेट र डाइजे १३ हजार ६ सय थान ट्याब्लेट फेला परेका थियो ।
औषधि पसलमा लागुऔषध परेपछि फार्मेसी सञ्चालक सोही ठाउँका २१ वर्षीय संजयकुमार मण्डललाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी जाेशीले बताए ।
पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध कसुरमा थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
























