
काठमाडौं । नेकपा एमालेबाट निकालिएका नेता भीम रावलले आफूलाई कारबाही गर्ने निर्णयको विरोध गर्न अपिल गरेका छन् ।
बुधबार बसेको एमाले सचिवालय बैठकले रावललाई पार्टीबाट निस्कासन गरेको थियो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकाे जाेडबलमा उनी कारबाहीमा परेका हुन् ।
बिहीबार सामाजिक सञ्जाल एक्समार्फत् रावलले आफूलाई निष्कासन गर्ने एमाले सचिवालय बैठकको निर्णयको विरोध गर्न अपिल गरेका हुन् ।
‘सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु,’ रावलले एक्समा लेखेका छन् ।
रावलले पार्टी सदस्यबाट आफूलाई हटाउने निर्णयलाई ओलीको निरकुंश, स्वेच्छाचारी र तानाशाही निर्णय भएको बताएका छन् ।

























