
काठमाडौं । वर्तमान सरकारप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले घुमाउरो शैलीमा आलोचना गरेका छन् । शुक्रबार आयोजित कोटेश्वर महोत्सवलाई सम्बोधन गर्ने क्रममा काेटेश्वरकाे जग्गाकाे मुआब्जा नदिएकाे भन्दै सरकारकाे आलाेचना गरेका हुन् ।
‘जग्गाधनीलाई विशेष धन्यवाद । पचासौं वर्षदेखि मुआब्जा पाउनुभएको छैन । कमजोर सरकार हुँदा अपोजिसनले मान्छ कि मान्दैन भन्ने हुन्थ्यो,’ मेयर बालेनले भने, ‘यसपालि दुईतिहाइको सरकार छ त्यही पनि केही गरेकै छैन । कुनै पनि प्रोसेस भएको छैन । व्यक्तिको जग्गा लुटेर राखिएको स्थान हो यो । यहाँको मुआब्जा दिनका लागि कुनै प्रक्रिया भएको छैन् ।’
प्रधानमन्त्री, गृहमन्त्री आफ्नै रहेको उल्लेख गर्दै उनले भनिन्,‘ दुई तिहाईको सरकारले चाह्यो भने जे पनि गर्न सक्छ, गृहमन्त्री आफ्नै प्रधानमन्त्री आफ्नै पैसा, आफ्नै स्रोत साधन सबै आफ्नै ।’
आफ्नो उमेर भन्दा बढी समयदेखि सरकारले जग्गा लगेको स्मरण गर्दै उनले भने ,‘अहिले पनि यो काम भएन भने कहिल्यै हुँदैन ।’
महानगरपालिकाका अनुसार तीनकुनेमा ४६ रोपनी जग्गा छ । जसमध्ये २१ रोपनीको मात्रै मुआब्जा वितरण भइसकेको छ । बाँकी २५ रोपनी जग्गाका धनीले हालसम्म मुआब्जा लिन मानेका छैनन् । उनीहरूले अहिलेको चलनचल्तीको भाउमा मुआब्जा पाउने पर्ने माग गरेका छन् ।

























