
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले तराई–मधेस जागरण अभियान सञ्चालनको तयारी गरेको छ ।
माओवादीले पार्टीको पक्षमा देशैभर सकारात्मक ऊर्जा पैदा भएको र यथास्थितिबाट जनतामाझ फर्किनुपर्ने निष्कर्षसमेत निकालेको छ । त्यसका लागि फागुन १ गतेदेखि तराई–मधेस जागरण अभियान सञ्चालन गर्ने र त्यसको १ महिनापछि पूर्व–पश्चिम अभियान सञ्चालन गरिने माओवादीले जनाएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन नगरी एक्लै चुनाव लड्ने गरी अघि बढ्ने भनेर राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । आइतबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै प्रचण्डले आगामी निर्वाचनमा कांग्रेस र एमालेजस्ता पार्टीसँग मिलेर चुनाव नलड्ने र एक्लै चुनाव लड्ने गरी अघि बढ्ने प्रस्ताव राखेका हुन् ।
पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटोका अनुसार बैठकमा प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले वैज्ञानिक समाजवाद मान्नेहरुसँगै एकता गरेर अघि बढ्ने प्रस्ताव राखेका छन् । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा बहुमत, विप्लव नेतृत्वको नेकपा, प्रभु साहको नेपाल आम पार्टीलगायतसँग एकताको पहल गर्ने प्रस्ताव प्रचण्डको रहेको जानकारी सापकोटाले दिए ।
अग्रगमनका पक्षमा संविधान सशोधनका लागि बहस र छलफल चलाउनुपर्ने, संक्रमणकालीन न्यायसँग सम्बन्धी समितिको पदाधिकारी नियुक्त गर्न पहल गर्ने लगायतका विषयलाई प्रचण्डको राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् । बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनसँगै विभिन्न प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी लगायतले रिर्पोटिङ गरेका थिए ।
उनीहरुको रिपोर्टिङ देशैभर माओवादी प्रवेश गर्नेको लहर चलेको र पार्टीलाई बलियो बनाएर अघि बढाउनुपर्नेमा केन्द्रित रहेको सापकोटाको भनाइ छ । बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङलाई आमन्त्रित सदस्यको रुपमा बोलाइएको भन्दै सापकोटाले पदका विषयमा कुनै छलफल नभएको जानकारी दिए ।
केन्द्रीय समितिको दोस्रो दिनको बैठक सोमबार बिहान ११ बजे बस्ने छ । बैठकमा विभिन्न प्रतिवेदनमाथि छलफल हुने सापकोटाले बताए ।

























