सुन्दरहरैँचाको मालती पुलनजिक भेटिएको द्वन्द्वकालीन बम सेनाले गर्यो डिस्पोज

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २५, बिहीबार १९:१०

विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मालती पुलनजिकै फेला परेको द्वन्द्वकालीन सिलिन्डर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहीबार निष्क्रिय पारेको छ ।

सेनाको टोलीले २ वटा सिलिन्डर बम बिहीबार साँझसम्म लगाएर डिस्पोज गरेको हो । बम रहेको जानकारी आएलगत्तै खोजीका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो । खोजतलास गर्दा मालती पुलबाट करिब १० मिटर पश्चिममा सुरुङ खनेर राखिएको ४ वटा सिलिन्डर बिहीबार दिउँसो सेनाको टोलीले फेला पारेको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए ।

उनका अनुसार सुन्दरहरैँचा–७ को मालती पुल आसपासमा द्वन्द्वकालको बम रहेको सूचना जिल्ला प्रशासन कार्यालय मोरङमा आएको थियो । पूर्व–पश्चिम राजमार्गको गोठगाउँदेखि बेलगाछीसम्मको करिब २ किलोमिटर सडकमा बिहीबार बिहान ८ बजेदेखि सवारीसाधन आवागमन तथा मानिसलाई आवतजावतमा रोक लगाएर संयुक्त सुरक्षा फौजले ‘सर्च’ गरेको थियो ।

‘सर्च’ गर्ने क्रममा बम फेला परेको एसपी चिमरियाले बताए । ‘सशस्त्र द्वन्द्वका क्रममा माओवादीले बम राखेको जानकारी आएको थियो । खोजी गर्ने क्रममा फेला पर्यो । बम द्वन्द्वकालकै हो,’ उनले भने । बम डिस्पोजका लागि सवारीसाधनलाई ‘डाईभर्ट’ गरिएको थियो भने घटनास्थल वरपर आवतजावतमा रोक लगाइएको थियो ।

पूर्व–पश्चिम राजमार्ग (एसियन हाई–वे) विस्तार एवं स्तरोन्नतिको काम भइरहेको छ । राजमार्ग विस्तारको क्रममा उत्खनन् गर्दा पड्किनसक्ने जोखिम रहेको भन्दै बमका बारेमा माओवादीकै कार्यकर्ताले स्थानीय प्रशासनलाई सूचना दिएको स्रोतले बतायो । प्रहरीका अनुसार ४ वटामध्ये २ वटा सिलिन्डर बम र २ वटा ग्यास भरिएको सिलिन्डर रहेको पत्ता लागेको छ ।

‘विस्फोटक पदार्थ भरेर बम बनाइएको अवस्थामा २ वटा र ग्यास मात्रै भरिएको २ वटा सिलिन्डर फेला परेको थियो,’ प्रहरी स्रोतले भन्यो, ‘राजमार्गको दक्षिणतर्फ सुरुङ खनेर राखिएको बम द्वन्द्वकालीन नै हो ।’ विस्फोटक पदार्थ भरिएको २ वटा सिलिन्डर बम भने सेनाको टोलीले डिस्पोज गरेको हो ।

ग्यास भरिएका २ वटा सिलिन्डरलाई थप बुझ्नका लागि भन्दै सेनाले लिएर गएको छ । बम डिस्पोजपछि साँझ ५ः३० बजेबाट राजमार्ग सुचारु भएको प्रहरीले जनाएको छ । राजमार्गको २ किलोमिटरजति खण्डमा दिनभर यातायात अवरुद्ध भएको थियो ।

बम डिस्पोज गरिसकेपछि राजमार्ग सुचारु भएको हो । साँझबाट यातायातका साधन नियमित रूपमा गुड्न थालेको एसपी चिमरियाले जानकारी दिए । उनले यस विषयमा थप अनुसन्धान भइरहेको बताए ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.