
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दल फुटाउने गतिविधि आफूले नगर्ने बताएका छन् । दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भनेर उनले झुटो र नकारात्मक प्रचार भइरहेको दाबी गरे ।
नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीसँग सोमबार बिहान बालुवाटारमा कुराकानी गर्दै ओलीले आफू कुनै दल फुटाउने र मिलाउने काममा नलाग्ने स्पष्ट पारे । देश विकास र जनताको सेवालाई ध्यानमा राखेर सरकारले अध्यादेश ल्याएको उनको दाबी छ ।
लुकाएर र छलछाम गरेर काम गर्ने आफ्नो बानी नभएको दाबी गर्दै प्रधानमन्त्री ओलीले देशको हितमा खुलेआम काम गर्ने बताए । उनले मध्यराति सरकारले अध्यादेश ल्याएको भन्नेबारे सञ्चारमाध्यममा समाचार प्रकाशन भएको भन्दै सजग रहन आग्रह गरे ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट त्यसको विरोध भयो भन्ने झूठो वक्तव्य प्रचार गरिएका जस्ता घटनाबाट नेपाली पत्रकारिता बच्नुपर्नेमा उनको जोड थियो । ओलीले देश र जनताको पक्षमा काम गर्नलाई जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको बताए ।

























