
सिन्धुपाल्चोक । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार चाँडै ढल्ने दाबी गरेको छ ।
सरकार टिकिरहोस् भन्ने आफूहरुको चाहना भए पनि अब सरकार धेरै समय नटिक्ने उनको दाबी छ । सिन्धुपाल्चोकको पर्यटकीय नगरी सुकुटेमा सुरु हुने राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता उद्घाटन गर्न पुगेका प्रचण्डले प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकद्वारा आयोजित पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै सरकार अब धेरै समय नजाने बताएका हुन् ।
माओवादी अहिले नै सरकार गिराउने र सरकारमा जाने अभ्यासमा नरहेको दाबी भने उनले दोहोर्याए । यो सरकार असंवैधानिक र अप्राकृतिक रहेको भन्दै प्रचण्डले भने, ‘मैले मिति घोषणा गर्न सक्दिनँ । तर, यो सरकारको आयु चाहिँ धेरै छैन ।’ सरकारको क्रियाकलाप हेर्दा नै यो धेरै नटिक्ने अवस्था आएको उनको भनाइ छ ।
सरकारलाई असंवैधानिक,अप्राकृति संज्ञा दिँदै उनले यसको नियतमा खोट रहेको बताए । दुईतिहाइको सरकार भए पनि संसद छलेर अध्यादेशमार्फत मुलुक चलाउने चेष्टा भइरहेको प्रचण्डको भनाइ छ ।
दबाबमार्फत् राष्ट्रपतिलाई निकै ठूलो धर्मसंकटमा पारेर अहिलेको सरकार बनाइएको प्रचण्ड बताउँछन् । ‘राष्ट्रपति संविधानको धारा ७६ को उपधारा ३ अनुसारै सरकार बनाउन चाहानुहुन्थ्यो । तर, उहाँलाई दबाब दिएर ठूलो धर्मसंकटमा पारियो,’ प्रचण्ड भन्छन् ।

























