धार्मिक तीर्थस्थलहरुमा मकर नुहाउनेको भिड

Share this
648shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १, मंगलबार १४:३२

विराटनगर । मुलुकभरका विभिन्न नदी, खोला तथा धार्मिक तीर्थस्थलहरुमा आज (मंगलबार) मकर नुहाउनेको भिड लागेको छ ।

माघ १ गतेलाई मकर संक्रान्ति भनिन्छ । यो दिन धनु राशिबाट सूर्य मकर राशिमा प्रवेश गर्छ । यस पवित्र दिनको अवसरमा धाम मानिएका बराहक्षेत्र, देवघाट, रिडी, त्रिवेणी, गोदावरी धाम, कालीगण्डकीलगायत नदीमा मकर संक्रान्ति स्नान गर्न भक्तजन पुगेका छन् ।

विभिन्न स्थलहरुमा स्नान गर्नेहरुको अत्यधिक चाप छ । आज उत्तरायण सुरु हुने दिन भएकाले स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । जसका कारण बिहानदेखि विभिन्न क्षेत्र एवं धामहरुमा भक्तजनको बाक्लो उपस्थिति छ ।

सुनसरीको प्रसिद्ध तीर्थस्थल बराहक्षेत्र–१ चतराधामस्थित वराहक्षेत्र मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । सोमबार साँझदेखि नै धामी–झाँक्रीसहित ठूलो संख्यामा भक्तजन स्नान गर्न र पूजापाठ गर्न वराहक्षेत्र पुगेका थिए ।

वराहक्षेत्रमा पूजा र मकर नुहाउन मुलुकका विभिन्न स्थानसँगै भारतको विहार, पश्चिम बंगाल, सिक्किमसँगै भुटानबाट समेत हिन्दु धर्मावलम्बीहरु पुग्ने गरेका छन् ।

पर्वतको प्रसिद्ध धार्मिकस्थल मोदीवेणी, सेतीवेणी, पुर्तिघाट, जैमिनीघाट, नयाँपुललगायत स्थानमा बिहानदेखि भक्तजनको घुइँचो लागेको छ । स्नान गरी तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने जनविश्वास छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.