
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको तेतरियामा नेकपा (माओवादी केन्द्र)ले सडक नै बन्द गरेर शनिबार धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभा गरेको छ ।
पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि रहेको कार्यक्रमका कारण सर्वसाधारणले भने दिनभर सास्ती बेहोर्नु पर्यो । सडक छेकेर सभा गरेपछि माओवादीको तीव्र आलोचना भइरहेको छ ।
विराटचोक–घिनाघाट खण्डको ४ लेन सडक बन्द गरेर सवारी आवागमन नै प्रभावित बनाउँदै सभा गरेपछि माओवादीको विरोध भएको हो । उपनिर्वाचनमार्फत ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका नमोनारायण माझी निर्वाचित भएका थिए ।
मतदातालाई धन्यवाद दिन र सरकारविरुद्ध खबरदारी गर्न भन्दै माओवादीले सभाको आयोजना गरेको हो । प्रचण्डले सम्बोधन गरेको सभाका कारण सास्ती बेहोर्नु परेको गुनासो स्थानीयको छ । सभाका लागि गाउँपालिकाको कार्यालयनजिकै मञ्च बनाइएको थियो ।
सभाका कारण सडक अवरुद्ध भएको थियो । जसको प्रत्यक्ष असर सडक प्रयोगकर्तालाई पुग्यो । बाटो जाम भएपछि एम्बुलेन्ससमेत चल्न मुस्किल पर्यो । अन्य सावरीसाधनले सडक प्रयोग गर्न पाउने त कुरै छाडौं । अत्यावश्यक सेवाका सवारी साधनसमेत रोकिन पुगे ।
सभाका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्यो । प्रहरीले पनि सडक खुलाउन सक्ने अवस्था भएन । एम्बुलेन्स नै रोकिएपछि सडकमा बसेका पार्टी कार्यकर्ताहरूलाई बाटो खाली गरिदिन माइकबाट कार्यक्रम सञ्चालकले आग्रह गर्नु परेको थियो ।
शनिबार दिउँसो करिब १ बजेबाट सुरु भएको कार्यक्रम लगभग साढे ३ घण्टा चलेको थियो । कार्यक्रमको मञ्चमा पूर्वप्रधानमन्त्रीदेखि मन्त्री, सांसद, पूर्वमन्त्रीलगायत थिए । बाटो हिँड्नेलाई पनि सभामा सहभागी गराउने उद्देश्यले सडक नै ढाकेर सभा गरिएको स्थानीयको दाबी छ ।
माओवादीले सडक छेकेर सभा गरेपछि सवारीसाधन ‘डाइभर्ट’ गर्नु परेको थियो । जसका कारण सर्वसाधारणलाई निक्कै सकस भयो । सर्वसाधारण झन्झटमा परे । भित्री बाटोका कारण कतिपय अलमलिएका थिए ।
केही सवारी चालकले ‘सडक नै ढोकेर कार्यक्रम गर्ने बुद्धि यिनलाई कसले दियो ?’ भनेर प्रश्न नै गरेका थिए । सडकमा कार्यक्रम गर्नु आफूहरुको बाध्यता भएको माओवादी मोरङका संयोजक विजय विश्वासले बताए ।
‘कार्यक्रम गर्न हामीले धेरैतिर ‘फिल्ड खोज्यौं । तर, भेटेनौं । विद्यालयमा पनि कार्यक्रम गर्न मिलेन । त्यही कारण सडक रोज्नुपर्ने अवस्था आयो,’ उनले भने । सरकारविरुद्धको खबरदारी सभासमेत भएकाले कार्यक्रम गर्न सडक नै रोजिएको विश्वासको भनाइ छ ।


























