
काठमाडौं । वामदेव गौतम नेकपा (एमाले)मै फर्किने भएका छन् । उनले आइतबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेट गरेका थिए ।
भेटपछि गौतमले आफू अब एमालेमै फर्किने पक्का भएको जानकारी दिए । उनले केही समयदेखि नेकपा एकता राष्ट्रिय अभियान चलाएका थिए । त्यो समूहको ठूलो पंक्ति एमालेमा प्रवेश गर्ने र बाँकी केही सदस्य नेकपा (माओवादी केन्द्र)मा जाने गौतमले बताए ।
गौतम यसअघि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा जाने चर्चा चलेको थियो । गौतमले एकीकृत समाजवादीका नेताहरुसँग पनि वार्ता गरेका थिए । ओलीसँग भेटेपछि गौतमले यसअघि एकीकृत समाजवादीसँग गरेको वार्ताको औचित्य सकिएको बताए ।
उनी कहिले एमालेमा प्रवेश गर्छन् भन्ने चैं यकिन छैन । गौतमले ओलीबाट छिटै मिति, समय र स्थानको जानकारी आउने बताए । ‘बाँकी कुरा उतै सोध्नु,’ उनले भने ।

























