
विराटनगर । नेकपा (एकीकृत समाजवादी) ओखलढुंगाका संस्थापक अध्यक्ष हंशराज वाग्ले नेपाली कांग्रेसमै फर्किएका छन् ।
ओखलढुंगाको सिद्धिचरण नगरपालिका–९ ज्यामिरेका बासिन्दा वाग्ले एकीकृत समाजवादीको कोशी प्रदेश सदस्य तथा समाजवादी खेलकुद महासंघका प्रदेश इन्चार्ज थिए । उनी कोशी प्रदेश खेलकुद विकास बोर्डको निवर्तमान सदस्यसचिव पनि हुन् ।
एकीकृत समाजवादी ओखलढुंगाका पूर्वअध्यक्ष वाग्लेलाई कांग्रेस सभापति शेरबहादुर देउवासहितले खादामाला लगाएर बिहीबार पार्टीमा स्वागत गरेका छन् । एकीकृत समाजवादीमा जानुअघि वाग्ले कांग्रेसमै थिए । समाजवादीकै कोटाबाट प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव बने ।
कांग्रेसको ओखलढुंगाका पूर्वजिल्ला सदस्य उनी २ पटक कांग्रेसको क्षेत्रीय प्रतिनिधि पनि भएका थिए । कांग्रेस आबद्ध नेपाल वैदेशिक रोजगार लोकतान्त्रिक एसोसिएसनको पूर्वअध्यक्ष रहेका वाग्ले भलिबलका पूर्वअन्तर्राष्ट्रिय खेलाडी तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को भलिबल प्रशिक्षकसमेत हुन् ।
























