सर्वोच्चको नजिरमा पनि हुनसक्छ त्रुटि, न्यायाधीश खतिवडाले गरेका छन् व्याख्या (पूर्णपाठसहित)

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ११, शुक्रबार ११:०२

विराटनगर । नेपालमा सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्तले नजिरको मान्यता पाउँछ । सर्वोच्चले प्रतिपादन गरेको नजिर कानुनसरह लागू गर्नुपर्छ ।

सर्वोच्चको अन्तिम आदेश, निर्णय, फैसला वा सर्वोच्चद्वारा प्रतिपादित सिद्धान्त नै नजिर हो । तर, सर्वोच्च अदालतले प्रतिपादन गरेको नजिरमा पनि त्रुटि हुनसक्छ । इजलासले प्रतिपादन गरेको नजिर तथा सिद्धान्तमा त्रुटि भएकाले पुनः त्यसलाई न्यायाधीश आफैंले नै सच्याएका पनि छन् ।

Advertisement

सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश ईश्वरप्रसाद खतिवडाले पोलिग्राफ परीक्षण प्रतिवेदनका विषयमा आफ्नो पहिलेको फैसलामा दिएको रायमा कमजोरी छ भन्दै सच्याएका थिए । यसरी सच्याइएको नजिर हुम्लाको तत्कालीन जैर गाविस–४ सपुर धामी प्रतिवादी रहेको मद्दाको हो । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत हुम्ला र उच्च अदालत सुर्खेतको हुम्ला इजलासले पोलिग्राफ जाँच प्रतिवेदनका आधारमा उनलाई जन्मकैद हुने फैसला गरेको थियो ।

तर, सर्वोच्च अदालतले पोलिग्राफ भरपर्दो प्रमाण नभएको भन्दै मुद्दा उल्टाएको थियो । फैसला लेखन गर्दा न्यायाधीश खतिवडाले भाग्यनारायण बैठाविरुद्धको अपहरण तथा शरीर बन्धक मुद्दामा पोलिग्राफलाई प्रमाणको रुपमा लिएको रायलाई सच्याएका थिए । न्यायाधीश हरिकृष्ण कार्कीले लेखेको फैसलामा खतिवडाले आफ्नो सहमति जनाएका हुन् ।

‘सर्वप्रथम, भाग्य नारायण बैठाको मुद्दाका सन्दर्भमा फैसला गर्दा प्रासंगिक कथनको रुपमा उल्लेख भएका केही हरफ उद्धृत गर्नु आवश्यक छ। न्यायाधीश हरिकृष्ण कार्कीको रायमा मेरो सहमति रहेको उक्त फैसलामाः ‘पोलिग्राफ परीक्षण पद्धतिबाट परीक्षण गरी निस्केको निष्कर्षलाई अनुसन्धान, तहकिकातको क्रममा संकलित प्रमाणबाट समर्थित गरेको अवस्थामा त्यस्तो पोलिग्राफ परीक्षण पद्धतिबाट परीक्षण गरी निस्केको निष्कर्ष एवं रायलाई प्रमाणको रूपमा ग्राह्य गर्न सकिने हुन्छ । यथार्थमा पोलिग्राफ परीक्षण पद्धती अनुसार परीक्षण गरी प्रस्तुत भएको राय अन्य प्रमाणहरुबाट समर्थित भएमा वा त्यस्तो राय अन्य प्रमाणसँग तादाम्यतापूर्ण भएमा प्रमाणमा लिने कुरालाई अंगीकार गरिएको पाइन्छ’ भन्ने व्यहोरा समेत उल्लेख गरिएको देखिन्छ,’   फैसलामा खतिवडाले लेखेका छन्, ‘यो फैसला तयार गर्दाको क्रममा उल्लिखित भाग्यनारायण बैठाको मुद्दामा भएको व्याख्या मेरो स्मरणमा रहेको छ । उक्त मुद्दामा अन्य प्रमाणबाट अभियोग दाबी प्रमाणित भएको सन्दर्भमा पोलिग्राफ परीक्षणको कुरालाई सहयोगी वा पुरक प्रमाणको रुपमा ग्रहण गरिएको देखिन्छ । विषय र प्रसंगवश अहिले उल्लिखित दृष्टिकोणमा थप केही परिमार्जन गर्नु आवश्यक छ भन्ने मलाई महसुस हुन आएको छ ।’

एउटै विषयमा फरक–फरक दृष्टिकोण राख्न नहुने उनको राय छ । ‘सुधार वा परिवर्तनको आवश्यकता महसुस भएपछि पनि पुरानो कुरा नै दोहोर्याएर बस्नु वा सुधार÷परिवर्तन गरिएको कुरालाई प्रष्ट शब्दमा उल्लेख नगरी दुई फरक–फरक दृष्टिकोण कायम रहन पुग्ने कुराप्रति निरपेक्ष रहनु स्वस्थकर न्यायिक व्यवहार हुँदैन,’ पुरानो रायमा दिएको सहमतिलाई परिमार्जन गर्दै उनले भनेका छन्, ‘न्यायाधीशले हरेक विवादित विषयवस्तुलाई स्वतन्त्र र खुला रुपमा मौलिक तबरबाट हेर्नुपर्ने र कारण जनाइ आवश्यकता अनुसार आफ्नो पूर्वधारणा वा रायमा परिवर्तन वा सुधार गर्नसक्ने न्यायिक मान्यता र प्रचलनलाई आत्मसात् गर्दै पोलिग्राफ परीक्षण सम्बन्धमा अहिले प्रस्तुत मुद्दाका सन्दर्भमा आफ्नो राय उल्लेख गरेको छु ।’

क्यानडा, इजरायल र बेलायतमा भएको अभ्याससमेतलाई उल्लेख गर्दै उनले पोलिग्राफ परीक्षण प्रतिवेदन भरपर्दो प्रमाण नभएको नजिर स्थापित गरेका थिए । ‘पोलिग्राफ परीक्षण पद्धतिलाई वैज्ञानिक रूपमा भरपर्दो र विश्वसनीय तुल्याउने कानुनी आधारहरू तयार भएको अवस्था पनि देखिँदैन,’ आफ्नो रायमा तत्कालीन न्यायाधीश खतिवडाले भनेका छन्, ‘ यस प्रकारको परीक्षणले अभियोग प्रमाणित वा खण्डित गर्न कुनै खास तार्किक आधारसमेत प्रदान गर्ने देखिँदैन । पोलिग्राफ परीक्षणबाट अनुसन्धानकर्ताको कार्यमा केही सहजीकरण प्राप्त हुनसक्ने भए पनि यसले मुद्दाको सिलसिलामा आरोपितमाथिको कसुर ठहर गर्न उपयोगी हुने सम्बद्ध प्रमाणको स्थान ग्रहण गर्न नसक्ने । तसर्थ, पोलिग्राफ परीक्षण प्रतिवेदनलाई कुनै कसुरको अभियोग दाबी ठहर गर्ने प्रयोजनका लागि प्रमाणमा ग्रहण गर्न मिल्दैन ।’

हेर्नुस् नजिर

 

clockप्रकाशित मिति:  २०८१ माघ ११, शुक्रबार ११:०२
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.