
काठमाडौं । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले सशस्त्र प्रहरी संगठनलाई व्यक्तिको प्रभावबाट नभएर नीतिको आधारमा सञ्चालन हुने संगठन बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गृह मन्त्रालयमा गृहसचिव राजकुमार श्रेष्ठबाट सोमबार दर्ज्यानी चिह्न ग्रहण गरेपछि मन्तव्य दिँदै आईजीपी पौडेलले संगठनलाई विधि, प्रणाली र संस्थागत मूल्यका आधारमा अघि बढाइने बताएका हुन् । उनले मानव स्रोतको विकास, आधुनिक प्रविधिको उपयोग र नतिजामुखी कार्यशैलीमार्फत संगठनलाई थप प्रभावकारी बनाउने लक्ष्य रहेको उल्लेख गरे ।
‘सकल दर्जाको कल्याण र वृत्ति विकासमा जोड दिइनेछ । संगठन व्यक्तिले नभई नीतिले चल्नेछ,’ पौडेलले भने । उनले सीमा सुरक्षालाई थप सुदृढ बनाउँदै संस्थागत संरचना, नीतिगत व्यवस्था र रणनीतिक कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
उनका अनुसार सशस्त्र प्रहरी बल नेपालको भूमिका सुरक्षा निकायमा सीमित नभई राष्ट्रिय सुरक्षा, सीमा निगरानी, शान्ति सुव्यवस्था कायम गर्ने, विपद् व्यवस्थापन तथा सरकारका नीति कार्यान्वयनमा समेत केन्द्रित रहनेछ । संविधान, कानुन र राष्ट्रिय हितलाई केन्द्रमा राखेर इमान्दारी, निष्पक्षता र निष्ठाका साथ जिम्मेवारी निर्वाह गर्ने उनले बताए ।
आईजीपी पौडेलले सरकारको १०० बुँदे शासकीय सुधार योजनाअनुसार संगठनलाई सेवामैत्री र जनउत्तरदायी बनाउने तयारी भइरहेको जानकारी दिए । साथै, सशस्त्र प्रहरी ऐन तथा अन्य कानुनी संरचनामा स्पष्टता ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै सरकारसँग आवश्यक स्रोतसाधन, मार्गदर्शन र नीतिगत सहयोगको अपेक्षा पनि राखे ।
गृहसचिव राजकुमार श्रेष्ठले भने सरुवा, बढुवा र वृत्ति विकास प्रणालीलाई पारदर्शी र अनुमानयोग्य बनाउन निर्देशन दिएका छन् । उनका अनुसार निष्पक्ष प्रणाली विकास भएमा संगठनभित्रको असन्तुष्टि र गुनासा स्वतः कम हुनेछन् । उनले मनसुनजन्य विपद् व्यवस्थापनमा उच्च तयारीसहित सक्रिय भूमिका निर्वाह गर्न पनि निर्देशन दिए ।
पूर्वआईजीपी राजु अर्यालको कार्यकालमा सशस्त्र प्रहरीले १०९ कार्यविधि, डिजिटल बोर्डर अवधारणा, अनलाइन बिदा प्रणाली, डिजिटल हाजिरी तथा आर्थिक निगरानी प्रणालीजस्ता सुधारहरू लागू गरेको थियो । ती सुधारले संगठनलाई व्यवस्थित र पारदर्शी बनाएको विश्लेषण गरिएको छ ।
अब त्यसलाई निरन्तरता दिँदै अझ प्रभावकारी बनाउने जिम्मेवारी पौडेलको काँधमा आएको छ । विशेषगरी सरुवा र बढुवालाई पूर्वानुमानयोग्य बनाउने, सीमा सुरक्षा प्रणालीलाई डिजिटल र निगरानीमैत्री बनाउने तथा संगठनभित्रको पारदर्शिता कायम राख्ने विषयलाई प्रमुख चुनौतीका रूपमा लिइएको छ ।
सीमा क्षेत्रमा बढ्दो तस्करी, आपराधिक गतिविधि, विपद् व्यवस्थापनको तयारी, राजनीतिक हस्तक्षेप न्यूनीकरण तथा संगठनात्मक अनुशासन कायम राख्नु पनि उनको कार्यकालका मुख्य चुनौती हुने देखिन्छ । सशस्त्र प्रहरी बल अहिले तुलनात्मक रूपमा स्थिर अवस्थामा रहेको छ । आईजीपी पौडेलले पूर्वप्रमुखले सुरु गरेका सुधारलाई संस्थागत गर्दै संगठनलाई अझ व्यावसायिक, प्रविधिमैत्री र जनउत्तरदायी बनाउने अपेक्षा गरिएको छ ।



















