‘लिपुलेक हाम्रै हो’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २१, सोमबार १३:३५
शिक्षामन्त्री

काठमाडौं । नेपाल सरकारले ‘लिपुलेक हाम्रै हो’ भन्ने अडान दोहोर्‍याएको छ । सीमा विवादका विषयमा नेपाल सरकारले आफ्नो अडान स्पष्ट रहेको दोहोर्‍याएको हो ।

सरकारले विवादित भू–भाग नेपालकै रहेको दाबी गर्दै समस्या समाधान कूटनीतिक माध्यमबाट मात्र सम्भव हुने बताएको छ । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै नेपाल आफ्नो भूमिमा दृढ रहेको स्पष्ट पारेका हुन् ।

उनका अनुसार परराष्ट्र मन्त्रालयले यसअघि नै भारत र चीनलाई लक्षित गर्दै कूटनीतिक नोट पठाइसकेको छ । जसमा विवादित क्षेत्रभित्र कुनै पनि गतिविधि नगर्न आग्रह गरिएको छ ।

प्रवक्ता पोखरेलले भारतले पठाएको जवाफमा संवाद र सहकार्यमार्फत समाधान खोज्नुपर्ने संकेत गरिएको जानकारी दिँदै नेपाल पनि त्यही मार्गमा अघि बढ्न तयार रहेको बताए । उनका अनुसार नेपाल–भारतबीचको सीमा समस्या ऐतिहासिक र संवेदनशील विषय भएकाले एकपक्षीय निर्णयभन्दा संवाद नै उपयुक्त विकल्प हो ।

यसैबीच, लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने मार्गलाई लिएर पुनः विवाद चर्किएको छ । भारतले उक्त मार्गबाट २०२६ जुनदेखि अगस्टसम्म २० समूहमा तीर्थयात्रा सञ्चालन गर्ने घोषणा गरेपछि नेपालले आपत्ति जनाउँदै औपचारिक पत्राचार गरेको थियो ।

भारतले भने उक्त मार्ग पुरानै प्रयोगमा रहेको बताउँदै यसलाई नयाँ विषयका रूपमा लिन नहुने तर्क गरेको छ । तर, नेपालले उक्त भू–भाग आफ्नो रहेको दाबी गर्दै कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको छ ।

नेपाल सरकारले लिपुलेक क्षेत्र नेपालको नक्सा र ऐतिहासिक प्रमाणअनुसार नेपाली भूमि भएको अडान दोहोर्‍याउँदै विवाद समाधानका लागि उच्चस्तरीय कूटनीतिक पहल आवश्यक रहेको बताएको छ । यस घटनाले फेरि एकपटक नेपाल–भारत सीमा विवादलाई सतहमा ल्याएको छ । सरकार कूटनीतिक संवादमार्फत समाधान खोज्ने दिशामा केन्द्रित रहेको देखिन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.